एसईई नतिजा सार्वजनिक

July 27, 2022 4:24 pm

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। बोर्डले बुधवार एसईई नतिजा सार्वजनिक गरेको हो।

बोर्डका अनुसार यस वर्षको परीक्षामा ९ हजार ६३३ जनाले उच्च श्रेणीमा उत्तीर्ण भएका छन्। उनीहरुले ३.६ देखि ४ जीपीए ल्याएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए। यो कूल परीक्षार्थीको १.९४ प्रतिशत हो।

परीक्षामा २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी भएको बोर्डले जानकारी दिएको छ।

गत वर्ष र अघिल्लो वर्ष आन्तरिक मूल्यांकन विधिबाटै नतिजा सार्वजनिक गरेको बोर्डले यस वर्ष भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरी नतिजा सार्वजनिक गरेको हो। गत वैशाख ९ देखि २० गतेसम्म एसईई परीक्षा भएको थियो।

परीक्षाको नतिजा बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको परीक्षा नियन्त्रक कार्यालयले जानकारी दिएको छ। यस पटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ।