नेदरल्याण्डलाई स्तव्ध पार्दै नेपालको लगातार दोश्रो जित

March 2, 2024 8:54 pm

काठमाडौँ : टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले नेदरल्यान्ड्समाथि छ विकेटको सहज जीत हात पारेको छ । शृङ्खलामा नेपालको यो लगातार दोस्रो जीत हो । यसअघि नेपालले सुरुवाती दुई खेलमा पराजय बेहोरेको थियो ।

नेदरल्यान्ड्सले नेपाललाई दिएको १ सय २१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेट गुमाउँदै पछ्यायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाएका थिए । उनले ३४ बलमा ३ चौका र १ छक्का हिर्काए ।

कप्तान पौडेलललाई गुल्सन झाले ३६ बलमा ३८ रन बनाएर राम्रो साथ दिए । उनले २ चौका र एक छक्का हिर्काए । यसअघि ओपनर कुशल भुर्तेलले ८ बलमा १२ रन र आसिफ शेखले ८ बलमा ८ रन बनाएर आउट भएका थिए । नेदरल्यान्डसका लागि भिभियन किंगमाले ३ विकेट लिए भने आर्यन दत्तले १ विकेट लिए ।