नामिबियामाथि नेपालको रोमाञ्चक जित

March 1, 2024 8:19 pm

काठमाडौं : त्रिदेशीय टी–२० सिरिजको तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले रोमाञ्चक जित दर्ता गरेको छ । १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले पूरै ओभर खेल्दा ७ विकेट क्षतिमा १७७ रन बनायो । आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले हराएको हो । जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि जिवितै राखेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८० रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नामिबियाले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ७७ रनमात्र बनाउन सक्यो । नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो । तर करण केसीले कसिलो बलिङ गर्दै ८ रन मात्र दिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे ।