नेपाल द्वारा शृंखला क्लिनस्वीप, क्यानडा ९ विकेटले पराजित

February 12, 2024 8:11 pm

२९ माघ, काठमाडौं । क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपालले ९ विकेटको विजय हासिल गर्दै शृंखला क्लिनस्वीप गरेको छ । यसअघि भएको पहिलो एकदिवसीय खेलमा नेपालले ७ रनको र दोस्रो खेलमा ४ विकेटको विजय हासिल गरेको थियो । आज त्रिवि क्रिकेट मैदानमा सम्पन्न भएको अन्तिम खेलमा नेपालले क्यानाडालाई ९ विकेटले पराजित गर्यो । नेपाललाई जित दिलाउन ओपनर अनिल शाहले अविजित १ सय १२ त्यस्तै भिम सार्कीले पनि अविजित १ सय १ रन बनाए । ओपनर कुशल भुर्तेल १३ रनमा आउट भए । नेपालले ४४.३ ओभरमा लक्ष्य भेट्टाएको हो । अनिल शाह र भीम सार्कीले दोस्रो विकेटका लागि अविजित १ सय ८९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जित दिलाएका हुन् । एकदिवसीय क्रिकेटमा दुई नेपाली ब्याट्सम्यानले शतक पूरा गरेको समेत रेकर्ड बनेको छ ।

टस हारेर पहिले व्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाएको थियो । उसका लागि नवनित दलिवालले ५० रन बनाए भने निखिल दत्तले ४५ रन बनाए ।क्यानडालाई मध्यम स्कोरमा रोक्न नेपालका हेमन्त धामीले ३, कुशल मल्लले २,पवन सर्राफ, ललित राजवंशी र आकाश चन्दले समान १/१ विकेट लिए ।