प्रतिनिधिसभा सदस्यको शपथ बिहीबार

December 19, 2022 7:23 pm

काठमाडौं। प्रतिनिधिसभामा नयाँ निर्वाचित सदस्यको शपथ यही पुस ७ गते बिहीबार हुने भएको छ। संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार संघीय संसद् भवन नयाँ बानेश्वरमा यही पुस ७ गते बिहीबार दिनको १ बजे प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण हुनेछ।

नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था छ। सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने व्यवस्था छ।

ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथ ग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउनेछन्। शपथ ग्रहणका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी एवं हालसालै खिचेको पासपोर्टसाइजको फोटो दुईप्रतिसहित उपस्थित हुन संघीय संसद् सचिवालयले आग्रह गरेको छ। राष्ट्रिय पोशाक वा आआफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित भईदिनसमेत सचिवालयले आग्रह गरेको छ।

प्रतिनिधिसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्योहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित संघीय संसद् सचिवालयमा उपलब्ध गराउन आग्रह गरिएको छ।