जहाज राम्रो बन्यो, पाईलटको स्थान टेम्पो ड्राईभरले लिए : महासचिव भुषाल

January 1, 2024 6:08 pm

रत्ननगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषालले राम्रो जहाज बनाएपनि पाईलटको स्थान टेम्पो ड्राईभरले लिएका कारण मुलुकले राजनीतिक अस्थिरता सामना गर्न बाध्य भएको बताएका छन् । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली प्रति कटाक्ष गर्दै उनले आज रत्ननगरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा यस्तो बताएका हुन् ।

२०७४ सालमा एकीकृत अवस्थामा रहेको नेपालका कम्युनिष्ट पार्टिहरुलाई जनताले रुचाएर आफ्नो अमुल्य मत प्रदान गरेकोमा पार्टिका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्दै जनताको मतलाई घात गर्ने काम गरेको कारण आज मुलुकले राजनैतिक अस्थिरता सामना गर्न परेको उनको भनाई थियो । जनताको मत तथा कम्युनिष्टको एकताले उत्कृष्ट व्यवस्था बनेकोमा केपी ओलीको गलत नियतका कारण एकता जोगिन नसकेको उनको कथन थियो । लोकतन्त्र जोगाउन आफ्नै पार्टीको अध्यक्ष विरुद्ध विद्रोह गर्नुपरेको र त्यो विद्रोह जायज भएको उनले बताए ।

वर्तमान समयमा मुलुक बैदेशिक रोजगारीमा निर्भर भएको भन्दै कृषि क्रान्ति मार्फत औधोगिक क्रान्तिमा छिर्न सकिने आधारहरुको बारेमा उनले बताए । मुलुकमा कृषि क्रान्ति लगायत अन्य कुराहरुको विकल्प हुँदा हुँदै ओली भने प्रशान्त महासागरमा जहाज चलाउन हतारो गर्नु, हावादारी कुराहरु मार्फत जनतासामु प्रस्तुत हुनु मुलुकको लागी विषालु ट्युमर सावित भएको उनको तर्क थियो ।

मुलुकलाई सम्वृद्ध बनाउने हो भने किसानहरुलाई यान्त्रिकरणको व्यवस्था सरकारले गराईदिनुपर्ने, कुखुरापालन तथा माछापालनका लागी आवस्यक दाना उत्पादनकोलागी कच्चापदार्थ देखी उद्योग सम्म तयार गर्नुपर्ने, विजुली बेच्न तर्फ भन्दा पनि औधोगिक प्रयोग तर्फ लगाउने, निजि क्षेत्रले व्यापार सरकारी क्षेत्रले उद्योग स्थापना गर्ने साथमा किसानहरुलाई किसान परिचय-पत्र दिनुपर्ने भुषालको जोड थियो ।