बाजुराका सीडीयो र प्रहरी प्रमुख तीन दिनभित्र हटाउन आयोगको निर्देशन

May 28, 2022 1:32 pm

बाजुरा। बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ। निर्वाचन आयोगले बिहिबार पुनः निर्वाचन गर्ने निर्णय गरेको हो। वैशाख ३० को निर्वाचन कार्यक्रम रद्द गरी चुनाव निष्पक्ष नभएको ठहर गर्दै आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको हो।

आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई तीन दिनभित्र हटाई अरु कर्मचारी पठाएर निर्वाचनको वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ। उनीहरूलाई निर्वाचन कसुर अनुसार विभागीय कारबाही गरी आयोगलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको छ।

‘अबको निर्वाचन कार्यक्रम निर्वाचन अधिकृतको कार्यालयले नै तोक्नेछ’ आयोगका एक अधिकारीले भने। नगरपालिकाका कूल दश वटा वडामध्ये ६ वटा वडामा अत्यधिक विवाद थियो। २, ३, ४, ५, ७ र ९ नम्बरमा रहेका मतदान केन्द्रमा स्वतन्त्र मतदान हुन नसकेको स्थानीय मतदाताको भनाइ छ।

२, ३, ५ र ९ नम्बर वडाका मतदान स्थललाई नेकपा एमालेका कार्यकर्ताहरूले नियन्त्रणमा लिएका थिए भने कांग्रेस कार्यकर्ताहरूले वडा नम्बर ४ र ७ लाई नियन्त्रणमा लिएर आफू अनुकूल एकोहोरो मतदान गरेका थिए।

बुढीगंगामा उत्पन्न विवादवारे अध्ययन गर्न निर्वाचन आयूक्त सगुन सम्शेर जबरासहितको टोली नेपाली सेनाको हेलिकप्टरमा बाजुरा पुगेको थियो। सुरुमा सदरमुकाम मार्तडी आएर उनले सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका प्रमुखहरू, मतदानमा खटिएका निर्वाचन अधिकृतलगायतसँग घटनाबारे बुझ्ने काम गरेका थिए। दोस्रो दिन बुढीगंगास्थित भानोदय माविको स्थलगत अध्ययन गर्न पुगेका थिए। उनले बुझाएको प्रतिवेदनको आधारमा आयोगले पुनः मतदान गराउने निर्णय गरेको हो।