गठबन्धनभन्दा प्रतिगमन धेरै शक्तिशाली छ : चित्रबहादुर केसी

May 6, 2022 5:22 pm

काठमाडौं। सत्तारुढ गठबन्धनमा सम्मिलित राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनकै केही नेताहरूले प्रतिगामीहरूसँग चुनावी तालमेल गरेको आरोप लगाएका छन्। शुक्रबार पाँच दलीय गठबन्धनको चुनावी सभामा केसीले यस्तो अभिव्यक्ति दिएका हुन्। उनले पाँच दलीय गठबन्धनका विपक्षीहरूलाई प्रतिगामीको संज्ञा दिए।

‘राष्ट्रिय जनमोर्चाले अरूसँग सहमति गरेको छैन। तर पाँच दलकै कतिपय साथीहरूले प्रतिगामीहरूसँग चुनावी तालमेल गरेका छन्,’ उनले भने। केसीले विगतमा प्रजातन्त्र मास्न खोज्नेहरूले अहिले गठबन्धनको विरोध गरिरहेको बताए। उनले गणतन्त्र जोगाउन पनि हम्मे हम्मे परेको उल्लेख गरे। उनले पाँच दलीय गठबन्धनभन्दा प्रतिगमन धेरै शक्तिशाली रहेको बताए।

‘गणतन्त्र जोगाउन हामीलाई अहिले पनि हम्मे-हम्मे परेको छ,’ उनले भने, ‘गठबन्धनभन्दा अहिले बलियो छ प्रतिगमन।’ उनले प्रतिमागीहरु एक्लै नभएको पनि बताए। उनले पाँच दलभित्रै पनि मतभेद रहे पनि अहिले गणतन्त्र जोगाउनका लागि मिलेर जानुपर्ने अवस्था रहेको बताए। साथै उनले काठमाडौं जस्तो महानगरपालिकामा हार जितले देशभरि मात्र नभएर अन्तर्राष्ट्रिय रूपमा पनि असर पार्ने बताए।