एनएफआरएस: कम्पनीको कुन नाफा सही हो? करमा धेरै उल्झन, सिए शेषमणि दाहालको लेख

August 30, 2018 11:08 am

हाल नेपाल स्टक एक्सचेन्जमा बोटलर्स नेपाल र एभरेष्ट बैंक दुवै सुचिकृत कम्पनी हुन्। दुवै कम्पनी मल्टीनेशनल पनि हुन्। यी दुवै कम्पनीमा लगानी गरेर प्रतिफल प्राप्त गर्नु र यसको सम्पत्ति वृद्धि हुनु नै लगानीकर्ताको मुख्य उद्देश्य हो। अहिले लगानीकर्तालाई दुवै सुचिकृत कम्पनीको तुलना गरेर कुनमा लगानी गरौ भनेर अध्ययन गर्न सक्ने स्थिति छैन। कुन कम्पनीको शेयर सस्तो र बढि प्रतिफलमुलक छ भनेर तुलना गर्न आवश्यक स्रोत र साधन नभएपछि लगानीकर्ता रनभुल्लमा परेका छन्।

आखिर किन वित्तीय विवरणको आधारमा तुलना गर्न सकिदैन त यी दुर्इृ कम्पनीलाई?

उत्तर सरल छ, यी दुई कम्पनीले वित्तीय विवरण तयार गर्ने आधार नै फरक फरक छ। आधार नै फरक भएपछि दुईलाई तुलना गर्नै सकिँदैन र गरे पनि निष्कर्ष सहि आउँदैन। बैंकले नेपाल लेखामान तथा नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको अधिनमा रहि आफ्नो वित्तीय विवरण तयार गरी प्रकाशन गर्दछन् भने बोटलर्स नेपालले नेपाल लेखामान र ईन्ड्रस्टीमा चलेको मापदण्ड पछ्याउँछ।

नेपाल राष्ट्र बैंकले व्याज आम्दानीलाई नगद आधारमा लेखाङ्कन गर्न सुझाउँछ तर बोटलर्स नेपालले उधारोमा नै सामान बेचे पनि आफ्नो आम्दानी जनाउँदछ। त्यस्तै बैंकले राष्ट्र बैंकले तोके अनुसार ऋणमा प्रोभिजनिङ गर्दछ भने बोटलर्स नेपालले नउठ्ने आसामीलाई मात्र डुवेको भनि खर्च लेख्दछ।