प्रचण्ड क्रान्ति र शान्तिका नायक हुन् : वरिष्ठ नेता पौडेल

November 14, 2022 4:03 pm

गोरखा। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रान्ति र शान्तिका नायक भएको बताएका छन्। सत्ता गठबन्धनले सोमबार गोरखा- २ को पालुङटारमा आयोजना गरेको चुनावी सभामा पौडेलले प्रचण्ड क्रान्ति र शान्ति दुवै प्रक्रियाको नेतृत्वकर्ता र बिरलै पाइने नेता रहेको बताए।

 

उनले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने क्रममा भएको विस्तृत शान्ति सम्झौताको आफूले मस्यौदा गरेको बताए। उनले प्रचण्ड र गिरिजाप्रसाद कोइरालाको संयुक्त प्रयासबाट अहिलेको परिवर्तन आएको बताए। पौडेलले अहिले स्थानीय तहमा आएको अधिकार र वडाध्यक्षले विकासका लागि खर्च गर्न सक्ने परिवर्तन सानो परिवर्तन नभएको बताए।

 

नेता पौडेलले नेपाली काँग्रेसका मतदातालाई हिजो विगतमा के भयो भनेर साध्य नहुने भएकोले पुराना कुरालाई बिर्सेर भविष्य हेर्न आग्रह गरे। उनले नेपालमा रोजगारी बढाउन, विकास निर्माणका काम अघि बढाउन आग्रह गरे। उनले बिपी कोइरालाले भनेजस्तो राष्ट्रिय एकता गरेर जानुपर्ने बताए।

 

संविधान र लोकतन्त्रलाई जोगाउन बनेको गठबन्धन निरन्तर अघि बढ्ने उनको भनाई छ। नक्कली राष्ट्रवादी कुरा गर्ने एमाले पटक-पटक संसद भंग गरेपछि पनि संसदमा किन जानुपर्ने भन्दै उनले प्रश्न गरे। गठबन्धनका उम्मेदवारलाई मत दिएर निर्वाचित गर्न पौडेलले आग्रह गरे।