चार पार्टी मिलाएर समाजवादी केन्द्र बनाउने सहमति भइसक्योः नेता पुन

July 24, 2022 8:29 pm

काठमाडौं,साउन ८। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चार पार्टी मिलाएर नेकपा समाजवादी केन्द्र बनाउने सहमति भइसकेको बताएका छन्। उनले आगामी संघीय निर्वाचनमा कांग्रेससँग केही क्षेत्रमा मात्र तालमेल हुने प्रष्ट पारे। आइतबार संसद परिसरमा पत्रकारसँग कुरा गर्दै उनले तत्काल कुनै पार्टीसँग एकता सम्भावना नरहेको दाबी गरे।

‘माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, बाबुराम भट्टराई र वामदेव गौतमबीच समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ,’ पुनले भने, ‘चुनावमा हामी मोर्चा बनाएरै जान्छौं।’ कांग्रेससहितको पाँच दलीय गठबन्धन मिलेर चुनाव लड्ने तयारी भइरहेको बेला नेता पुनले कांग्रेससँग आवश्यकताका आधारमा मात्र तालमेल हुने प्रष्टिकरण दिए।

नागरिकता ऐनमा ओली सरकारले ल्याएकै प्रावधान छ, एमालेले दोहोरो चरित्र देखायो’ कांग्रेसले एक्लै चुनावमा बहुमत ल्याउनेगरी तयारी गर्ने निर्णय गरेपछि माओवादीको आधिकारिक आवाज पुनले बोलेका हुन्। ‘हामी समाजवादी केन्द्रबाट १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिन्छौ, कांग्रेससँग आवश्यकताका आधारमा केही ठाउँमा तालमेल हुन सक्छ,’ उनले थपे। चुनावी मोर्चा बनेपनि कसैसँग तत्काल पार्टी एकता हुने सम्भावना नरहेको उनले बताए।

समाजवादी मोर्चा बनेपछि देशमा मुख्य दुई राजनीतिक शक्ति हुने र त्यसको नेतृत्व समाजवादी केन्द्रले गर्ने पुनले ठोकुवा गरे।