टी–२० विश्वकप : न्यूजिल्याण्ड सेमिफाइनलमा,भारत बाहिरियो

November 7, 2021 7:15 pm

काठमाडौं । अफगानिस्तानमाथि सहज जित हात पार्दै न्युजिल्याण्ड टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ। न्यूजिल्याण्डको सेमिफाइनलको यात्रासँगै भारत भने टी–२० विश्वकपबाट बाहिरिएको छ । अबुधाबीमा अफगानिस्तानले दिएको १२५ रनको लक्ष्य न्युजिल्याण्डले १८.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १२४ रन बनाएको थियो । उसको सुरुवात खराब रह्यो । ओपनर मोहम्मद शाहजाद २ र हजरातुल्लाह जजई मात्र ४ रनमा आउट भए । तेस्रो विकेटका रुपमा रहमानुल्लाह गुरबाजी ६ रनमा आउट हुँदा अफगानिस्तानको स्कोर मात्र १९ रन थियो । पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका नजीबुल्लाह जदरानले आक्रामक पारी खेले । चौथो विकेटका लागि गुलाबुद्धिन नाबीसँग ३७ रनको साझेदारी गरेका उनले पाँचौं विकेटका लागि मोहम्मद नाबीसँग ५९ रनको साझेदारी गरे । गुलाबुद्धिन नाबी १५ र मोहम्मद नाबी १४ रनमा आउट भए । छैटौं विकेटका रुपमा आउट भएका जदरानले ७३ रन बनाए । ४८ बलको सामना गरेका उनले ६ चौका र ३ छक्का हानेका थिए । न्युजिल्याण्डको जितका लागि कप्तान केएन विलियम्सले अभिजित ४० रन र डेभन कनवेले अभिजित ३६ रनको योगदान गरे । आजको हारसंगै अफगानिस्तान पनि प्रतियोगिता बाट बाहिरिएको छ ।