नेप्से सूचकमा झिनो सुधार हुँदा शेयर बजार ओरालो झर्नबाट जोगियो, बिमस्टेकको रौनकले असर गर्ला?

August 30, 2018 12:49 pm

काठमाडौं। भदौ लागेदेखि नै लगातार घटिरहेको शेयर बजार मंगलबार ७ ‍औं कारोबारको दिन ब्रेक लागेको छ। मंगलबार शेयर बजारमा झिनो अंकले सुधार देखिएको छ। ६ कार्यदिनमा ३४.६ अंकले घटेको बजार मंगलबार १.३७ अंकले बढेको छ।

बजार ०.१२ प्रतिशतले बढे पनि कारोबार रकम भने बढ्न सकेन। मंगलबार १९ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ। मंगलबार कारोबार सुरु भए देखिनै सामान्य उतारचढावसँगै बजार जलविद्युत, अन्य र जीवन बीमा कम्पनीको उपसूचक घटे पनि बाँकी सूचक तथा उपसूचक भने हरियो देखिएका छन्।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै एक करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ। ग्लोबल आइएमर्इ लघुवित्तका शेयर धनीले सबै भन्दा धेरै ३.९४ प्रतिशतले कमाएका छन् भने समिट माइक्रोफाइनान्सका शेयरधनीले ३.४० प्रतिशतले गुमाएका छन्।

कारोबार रकम नबढेपनि लगातार बजार ओरालो लाग्ने क्रमबाट मंगलबार थोरै सुध्रेको देखिएको छ। बजारलार्इ प्रभाव पार्ने कुनै नयाँ कुरा नभए पनि राजधानीमा हुन लागेको विम्स्टेक सम्मेलनले बजारमा केही उत्साह थपेको देखिन्छ।