आज पनि नेप्से परिसूचकमा गिरावट

April 18, 2022 7:03 pm

काठमाडाैं : साताको कारोबार भएको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ । सोमबार शेयर बजार मापक नेप्से परिसूचक ४१.७७ अंक घटेर २३४३.८७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.८२ अंक घटेर ४४४.१५ विन्दुमा झरेको छ भने फ्लोट इण्डेक्स २.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६२ अंकले घटेको छ ।

सोमबार कारोबारमा २२९ कम्पनीको ३८ लाख ७६ हजार कित्ता शेयर १ अर्ब ५३ करोड ६ लाख ९२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक ओरालो लागेपनि कारोबार रकम भने अघिल्लो कारोबारको तुलनामा सामान्य बढेको छ । नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४४ प्रतिशत घटेको छ । निर्जीवन बीमा, जलविद्युत, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

सोमबार नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, दिव्यश्वरी हाइड्रोपावर र जाल्पा लघुवित्तको शेयरमूल्य बढेको छ । यता, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन उर्जा विकास कम्पनी घटेको छ । कारोबार रकमका आधारमा ४ करोड ९६ लाख २६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री नबिल बैंक शीर्ष स्थानमा रहेको छ । हिमालयन डिष्टिलरीको ४ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।