बिम्स्टेकको रौनकले छोएन शेयर बजारलाई, सबै उपसूचक ओरालो लाग्दा १९ करोड २० लाखको कारोबार

August 30, 2018 12:48 pm

काठमाडौं। लगातार छ कारोबार दिन घटेर सातौ दिन मंगलबार झिनो अंकले बढेको शेयर बजार आठौ कारोबार दिन पून घटेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ४.७९ अंकले घटेर ११७२.३० अंकमा ओर्लिएको छ। क वर्गको कम्पनीहरूको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स ०.८० अंकले घटेर २४७.८१ अंकमा झरेको छ। ६ कार्यदिनमा ३४.६ अंकले घटेको सूचक मंगलबार १.३७ अंकले बढेको थियो।

बुधबार १६३ कम्पनीका १९ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भयो।

बुधबार कारोबार सुरु भएको २० मिनेट देखिनै बजार घट्न थालेको थियो। त्यसपछि लगातार घटेको बजार अन्तसम्मनै घटेर बन्द भएको हो।

कारोबारमा आएका सबै उपउपसूचक घटेका छन्। बैंक २.४८, होटेल २.२६, विकास बैंक ७.९७, जलविद्युत ७.९५, फाइनान्स २.१२, निर्जीवन बीमा २८.४, उत्पादनमूलक १७.०६, अन्य ४.५, लघुबित्त ९.६३ र जीवन बीमा समूह ३८.१८ अंकले घटेका छन्।

न्याग्दि ग्रुप अफ पावरका शेयरधनीले सबैभन्दा बढी करिब पाँच प्रतिशत कमाए। कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकका शेयरधनीले करिब सात प्रतिशत गुमाए।