‘ब्रान्ड’वाला भनेर पिएको मदिरा पर्ला है लोकल : ओल्ड दरबार र ब्ल्याक चिम्नीकै भेटियो नक्कल

August 30, 2018 12:06 pm

काठमाडौं। तपाईँ मदिराको कति अम्मली हुनुहुन्छ? ब्रान्डेड मदिरा पिउने लत त छैन? छ भने होसियार हुनुहोस्। अहिले बजारमा ब्रान्डेड रक्सीको बोतलमा लोकल र स्तरहीन मदिरा बिक्री भइरहेको खुलेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँले सोमवार जोरपाटीको माकलबारीमा छापा मार्दा यस्तो रहस्य बाहिर आएको हो। रामेछापका अर्जुन थापा भन्ने डम्बरबहादुर विश्वकर्माले सञ्चालन गरेको मदिरा पसलमा नक्कली ब्रान्डका मदिरा भेटिएको थियो। विश्वकर्माले ब्रान्डेड रक्सीहरू ओल्ड दरबार, व्ल्याक चिम्नी लगायतका बोतलको सिल तोडेर लोकल तथा कम गुणस्तरका मदिरा बच्ने गरेको परिसरका एसएसपी वसन्त लामाले बताए। एसएसपी लामाले भने, ‘मदिराको गोदाम नै बनाएर उनले ब्रान्ड भएका रक्सीमा लोकल रक्सी हालेर बिक्री गरेको पाइएको हो।’

विश्वकर्मालाई नियन्त्रणमा लिएर प्रहरीले अदालतबाट कालोबजारीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ।