देवघाटमा फागुन १७ देखि श्रीकृष्ण प्रणामी मन्दिरमा ज्ञानमहायज्ञ हुने

February 22, 2024 8:21 pm

देबघाट । पवित्र धार्मिक स्थल देवघाटमा निर्माण गरिएको श्रीकृष्ण प्रणामी मन्दिर, श्रीकृष्णकृपा धाम, श्री प्राणनाथ अनाथ सेवा आश्रममा यही फागुन १७ देखि २३ गतेसम्म श्रीकृष्ण प्रणामी धर्मजागनी ज्ञान महायज्ञ हुने भएको छ । मन्दिर व्यवस्थापन समितिले मन्दिर निर्माण तथा आश्रम सञ्चालनको लाथि आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरेको हो । देवघाट गाउँपालिका वडा नं ५ मा करिब ५ करोडको लगानीमा श्रीकृष्ण प्रणामी आर्कषक मन्दिर निर्माण गरिएको छ । मन्दिरसंगै अनाथ वालवालिकालाई आवासीय सुविधा सहित शिक्षा प्रदान गर्ने उद्देश्यले मन्दिरसंगै आश्रम निर्माण गरिएको छ । मन्दिर व्यवस्थापन समितिले विहीबार मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी फागुन १६ गते मन्दिर तथा आश्रम र महायज्ञको एकैसाथ उद्घाटन गर्ने गरी तयारी तीब्र पारिएको जनाएको छ ।

ज्ञानमहायज्ञको श्रीकृष्ण प्रणामी धर्मका पीठाधीश्वर अनन्त श्रीविभूषित जगद्गुरू आचार्य श्री कृष्णमणीजी उद्घाटन गर्नेछन् । श्रीकृष्ण प्रणामी धर्मकी प्रथम नेपाली महिला भागवत कथाबाचक तारा घिमिरेको प्रमुख संस्थापक संरक्षकत्वमा र तत्कालिन संस्थापक अध्यक्ष श्यामजी अतिथिको नेतृत्वमा चितवन र तनहुँको भक्तजनहरुको सहयोगमा २०७३ सालबाट मन्दिर निर्माण सुरु गरिएको हो । आश्रमको स्वामित्वमा रहेको करिव १० रोपनी जमिन परिसरमा श्रीकृष्ण प्रणामी मन्दिर, श्रीकृष्णक्षा धाम, बाइजुराज सामुदायिक भवन, कलात्मक शैलीको प्रवेशद्वार, सन्त निवास, भोजनालय ध्यान साधना केन्द्र, वाणी प्रशिक्षण केन्द्र र विभिन्न विद्युतीय झांकी, पानीका फोहरा निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल समारोह समितिका अध्यक्ष राजेन्द्रप्रसाद रिजालले बताए । महायज्ञमा श्रीमत्तारतम सागर ब्रल्ल्मवाणीको मुख्य चर्चाकार श्री १०८ मोहनप्रियाचागंजी र श्रीमद्भागवत महापुराणका मुख्य कथाकार श्री १०८ लक्ष्मणदेवजीले कथाबाचन गर्ने महायज्ञ मुल समारोह समितिका सहसंयोजक देबराज पराजुलीले जानकारी दिए । महायज्ञ सम्पन्न गर्न राजेन्द्रप्रसाद रिजालको संयोजकत्वमा एक हजार ८ जनाको मुल आयोजक समिति तथा विभिन्न ३१ उपसमितिहरू गठन गरिएको छ ।

महायज्ञको प्रचारप्रसारको लागि फागुन १४ गते मोटरसाइकल रयाली र १६ गते शोभायात्र निकालिने सो समितिकी संयोजक शोभा ओलीले जानकारी दिइन् । मोटरसाइकल रयाली श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीवाट सुरु भएर भरतपुर, आँपटारी, रामनगर, ठिमुराहुँदै देवघाट आश्रमसम्म पुग्ने छ । शोभायात्राले देवघाट क्षेत्रको परिक्रमा गर्नेछ । श्रीकृष्ण प्रणामी धर्मको व्यापकता र देवघाटलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले आर्कषक श्रीकृष्ण प्रणामी मन्दिर निर्माण गरिएको कथाबाचक तारा घिमिरेले बताइने । महायज्ञका कथाबाचन गरेवापत आफुले पाएको पैसा, मुठीदान र दानवीरहरुसंग आर्थिक संकलन गरी मन्दिर र आश्रम निर्माण गरिएको भन्दै उनले मन्दिर निर्माण सम्पन्न गर्न अझै आर्थिक आवश्यक रहेकाले सहयोग गर्न आग्रह गरिन ।