दोर्दी गाँउपालिकामा रोट्र्याक्ट-रोटरी क्लवको बृहत स्वास्थ्य शिविर, ८ सय ६६ ले लिए सेवा

February 19, 2024 8:12 pm

७ फागुन, तनहुँ । तनहुँको ग्रामिण क्षेत्र दोर्दी गाँउपालिका वडा नम्बर २ अर्चलबोटमा आयोजना गरिएको बृहत स्वास्थ्य शिविरमा ८ सय ६६ जनाले सेवा लिएका छन् । लक्ष्मीनारायण माध्यामिक विद्यालय प्राङ्गणमा शनिबार सञ्चालित उक्त शिविरलाई रोट्र्याक्ट क्लव अफ नारायणी मिड टाउन र रोटरी क्लव अफ नारायणी मिड टाउनले संयुक्त रुपमा आयोजना गरेका हुन् । स्वास्थ्य शिविर उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य उर्मिला माझीले स्वास्थ्य नै मानव जीवनको धन भएकाले शरीरलाई सधैं स्वस्थ राख्नुपर्नेमा जोड दिनुभयो । सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गरेको समेत उक्त कार्यक्रममा उहाँले दावी गर्नुभयो । जेष्ठ नागरिक, बलाबालिका, आर्थिक अवस्था कमजोर भएका नागरिककालागि सरकारले निःशुल्क तथा सहुलियतमा उपचार गराउँदै आएको उहाँको भनाइ छ । सरकारले स्वास्थ्य पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने तर निःशुल्क गर्न नसके पनि सहुलियत भने उपलब्ध गराएको उहाँले बताउनुभयो । धेरै ठाउँमा अस्पतालले आफ्नो प्रचार प्रसार गर्ने उद्देश्यले शिविर सञ्चालन गर्ने गरेको पाइए पनि अर्चलबोटमा भने विशेषज्ञसहितको सेवा उपलब्ध गराएकोमा आफुलाई खुसी लागेको उहाँले बताउनुभयो ।

शिविरमा ४ सय ८० जनाले आँखा परीक्षण गरेका छन् । आँखा परीक्षण गरिएका मध्ये ४३ जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । ३ सय ४० जनाले दन्त सेवा, ३ सय ५० जनाले हाडजोर्नी सेवा, २ सय १० जनाले स्त्री रोग तथा प्रसूति सेवा, २ सय १० जनाले बालरोग सेवा, ४ सय २० जनाले जनरल फिजिसियन सेवा लिएका छन् । २ सय जनाले ल्याव सेवा र ८० जनाले भिडियो एक्सरे सेवा लिएको कार्यक्रम संयोजक सुनिल मरहट्ठाले बताउनुभयो । शिविरमा ३ लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको छ ।

शिविरमा सप्तगण्डकी अस्पताल, मौलाकालिका अस्पताल, सबमिट हेल्थ केयर, भरतपूर अस्पताल, एभरेष्ट हेल्थ क्लिनिक, मंगलम् डेण्टल भरतपुर चितवनका विशेषज्ञ सहित २४ जनाको टोलीले सेवा दिएका थिए । आयोजक रोट्रयाक्ट–रोटरी क्लब अफ नारायणी मिडटाउन भरतपुर चितवनका स्वयमसेवक र स्वास्थ्यकर्मीसहित ४८ जनाको टिमले सेवा प्रदान गरेका थिए । शिविरमा कोशिस युनिसेक्स सलोन भरतपुर चितवनले ८४ जनालाई निःशुल्क कपाल काट्ने सेवा प्रदान गरेको थियो ।

शिविरमा हिँडेर जान नसक्नेहरुका लागि सल्लाबोट र अर्चलबोटफाँटदेखि निःशुल्क यातायातको व्यवस्था गरिएको लक्ष्मिनारायण भू.पू. विद्यार्थी समाजका सह–संयोजक किशोर विकले बताउनुभयो । शिविरमा अर्चलबोट, श्रीमञ्ज्याङ, नौथर, भारते, भोटेओडार क्षेत्रका नागरिकले सेवा लिएका छन् । गाउँघरमै निःशुल्क विशेषज्ञसहितको सेवा पाउँदा स्थानीय हर्षित भएका छन् ।

कार्यक्रममा रोट्र्याक्ट क्लब आफ नारायणी मिडटाउनका अध्यक्ष विनोद श्रेष्ठ, दाेर्दि गाउँपालिकाका अध्यक्ष, राेट्र्याक्ट जिल्ला वर्ष २०२५/२६ का दिनेश गैरे, लक्ष्मी नारायाण पूर्व विद्यार्थी समाजका संयोजक नवीन अधिकारी लगायतको उपस्थिति थियो । शिविरमा बाँकी रहेको औषधी अर्चलबोट स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ । रोट्रयाक्ट–रोटरी क्लब अफ नारायणी मिडटाउनको आयोजना तथा दोर्दी गाउँपालिका, लक्ष्मीनारायण मावि अर्चलबोट, लक्ष्मीनारायण भूतपूर्व विद्यार्थी समाजकोे समन्वयमा शिविर सञ्चालन गरिएको हो ।