यती एयर दुर्घटना : मानवीय त्रुटि औंल्याउँदै जाँच आयोगले बुझायो प्रतिवेदन

December 28, 2023 5:06 pm

काठमाडौं : यती एयरलाइन्सको जहाज दुर्घटना भएको ११ महिनापछि अन्तिम रिपोर्ट आएको छ ।पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्षसहित दुर्घटना जाँच आयोगले आज आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको हो ।

यती एयरलाइन्सको एटीआर ७२ ‘९एन–एनएनसी’ जहाज दुर्घटनामा परी ७२ जनाको निधन भएको थियो । यस दुर्घटनामा चालक दलको कमजोरी रहेको दुर्घटना जाँच आयोगको निष्कर्ष रहेको छ ।

पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको छ ।पोखरामा गत वर्ष माघ १ गते विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो।

आयोगमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मतसम्भार विषयका इन्जिनियर एकराज जंग थापा र आयोगको सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने थिए ।