एड्वानको तरकारी खेति तालिम, ३० महिला लाभान्वित

May 22, 2023 7:18 pm

मदन अच्छामी, खैरहनी ।
विपन्न तथा पिछडिएको समुदायको महिलाहरुको जीविकोपार्जन सुधारको लागी आधारभूत सिप विकास कार्यक्रम अन्तर्गत मौसमी तथा बेमौसमी तरकारी खेति सम्वन्धि तालिम आज एक समारोहका विच समापन गरिएको छ । एड्वानको आयोजनामा यहि जेठ २ गते देखि आयोजना गरिएको कार्यक्रम करुणा ट्रस्ट / फ्यानको सहयोगमा संचालन भएको हो । तालिमलाई डा. भिम बहादुर विश्वकर्माले ७ दिन सम्म समन्वय गर्नुभएको थियो । कार्यक्रममा दुई महिला समूहका ३० जना महिलाहरुको सहभागिता रहेको थियो ।

तालिममा हप्ता दिन सम्म सहभागी हुनुभएकी कविता गिरिले तालिम आफुहरुको लागी निकै हितकर भएको बताउनुभयो । तालिममा तरकारीमा मलको मात्रा, मौसमी तथा बेमौसमी तरकारी पहिचान , गोडमेलको तवर, खेतीमा व्यवसायीकरण लगायतका धेरै कुराहरु आफुहरुले जानेको सहभागीहरुको भनाई थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै खैरहनी नगरपालिका उपप्रमुख कविता उप्रेतीले एड्वानले गरेको यो कामले विपन्न तथा पिछडिएको समुदायको महिलाहरुको जीविकोपार्जनमा ठुलो सहयोग पुग्ने बताउनु भयो । साथमा महिलाहरुले तरकारी उत्पादन गरेमा नगरले बजारीकरण गर्न साथ दिने उनको भनाई थियो । यस्तै समुहहरुले योजना बनाएर नगरपालिकामा सम्पर्क राख्न आएमा सहयोग तथा अनुदान समेत सहयोग गर्ने उनको प्रतिवद्धता थियो ।

कार्यक्रममा खैरहनी ५ का वडाध्यक्ष छत्रनाथ सुवेदी,प्रशिक्षक भिम बहादुर बिक लगायतले मन्तव्य राख्नुभएको थियो । सभाध्यक्ष समेत रहनुभएकी एड्वानकि अध्यक्ष विन्दु थापा परियारले वडा र एनजीओहरुको कुनै सहयोग प्राप्त गर्न नसकेका पिछडिएको महिलाहरुको पक्षमा सदैव एड्वान रहेको बताउनुभएको थियो । साथमा उंहाले ७ दिन सम्म हासिल गरेको सिपलाई महिला दिदीबहिनीहरुले प्रयोगमा ल्याउनुपर्ने समेत बताउनुभयो ।