वडाध्यक्षको मधुर बोलीमा राजश्व संकलन अभियान

January 12, 2023 6:30 pm

रत्ननगर । जाडो महिना भए पनि पारिलो घाम लागिरहेको थियो । आफ्नो वडामा व्यवसाय संचालन गर्ने व्यवशायीको पसल अगाडि गएर रत्ननगर १ का वडाध्यक्ष भन्दै थिए , “नमस्कार म वडाध्यक्ष कुल प्रसाद सापकोटा, तपाईले पसल दर्ता गर्नुभाको रहेनछ, दर्ता गर्नुस है” लगत्तै अर्को पसलमा पुगेर उनले थपे ” तपाईले पसल नवीकरण गर्नुभाको रहेनछ, छिट्टै नवीकरण गर्नुस है” वडाध्यक्षको मिठो बोलि बचनमा पसल संचालक खुसि देखिन्थे, र दर्ता नवीकरण चाडै गर्न वडा कार्यालय आउने समेत उनीहरु बताईरहेका थिए । वडाध्यक्ष सापकोटाको यो अभियान रत्ननगर नगरपालिकामा राजश्व संकलनको लागि थियो ।

व्यवासायीलाई करको दायरामा ल्याउन र करको लक्ष्य भेट्टाउन अभियानका रुपमा रत्ननगर नगरपालिकाले घरदैलो सुरु गरेको छ । विहीबार वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटाको नेतृत्वमा जनप्रतिनिधि र कर्मचारीको टोलीले दर्ता नभएका व्यबसायीलाई तत्काल व्यवसाय दर्ता गर्न र व्यवसाय नविकरण गर्न निर्देशन दिएका थिए ।

वडाध्यक्ष सापकोटाले ठुलो संख्यामा व्यवासायीहरु करको दायरामा नभएका कारण कर संकलन कार्यलाई अभियानका रुपमा सुरु गरिएको बताए । लक्ष्य अनुसारको कर संकलन नहुँदा विकास निर्माणका असर परेको भन्दै उनले सत प्रतिशत व्यवसायीलाई करको दायरामा ल्याउने योजना रहेको बताए ।

राजश्व शाखा प्रमुख धर्मराज अधिकारीले बजार क्षेत्रका ५० प्रतिशत व्यवसायीहरु करका दायरा भन्दा बाहिर रहेको बताए । उनले ३० प्रतिशत व्यवसायीले आफ्नो व्यवसाय नविकरण नगरेको बताए । चालु आर्थिक बर्षमा सो नगरपालिकाले ११ करोड ५० लाख राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ।

पछिल्लो ६ महिनामा सो नगरमा ५ करोड १२ लाख रुपैया राजश्व संकलन भएको अधिकारीले जानकारी दिए । वडा नं १ का गरिएको घरदैलोमा वडाध्यक्ष सापकोटा, राजश्व शाखा प्रमुख अधिकारी,वडा सचिव सुर्यप्रसाद ढुंगाना लगायतको सहभापगता रहेको थियो ।