विपन्न नागरिकलाई स्वास्थ्य बिमाको परिचयपत्र वितरण

January 8, 2023 3:33 pm

रत्ननगर,२४ पुष । रत्ननगर नगरपालिका वडा नं–३ को आयोजनामा विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत परिचय वितरण कार्यक्रम सम्पन्न भएको छ । रत्ननगर–३ का वडाध्यक्ष सोहेन्द्रराज खरेलको अध्यक्षता एवं रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नगरप्रमुख सापकोटाले २५० विपन्न नागरिकलाई परिचय वितरण गर्दै निःशुल्क स्वास्थ्य बिमा फागुन १ गतेदेखि लागू हुने बताए । उनले आफूले चुनावी अभियानमा घोषणा गरेको प्रतिबद्धताअनुरुप वडा नं–३ बाट परिचयपत्र वितरणको थालनी गरिएको बताए ।

नगरपालिकाले कोही पनि स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले ३५ सय विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिएको र छुटेका नागरिकको हकमा वडाका स्वास्थ्य केन्द्रले समन्वय गर्ने जानकारी दिए । नगरप्रमुख सापकोटाले विपन्न नागरिकले रत्ननगर बकुलहर अस्पतालबाट स्वास्थ्य बिमाको लाभ लिन सक्ने र उपचार गराउन नसक्ने विपन्न नागरिकलाई अझै सहज बनाउन थप ३० लाख रुपैयाँको स्वास्थ्य उपचार अक्षयकोष स्थापना गरिएको बताए ।

नगरपालिकाले शिक्षामा छात्रवृत्ति र कृषिमा अनुदान दिइएको बताउँदै आफ्नो अधिकार प्राप्त गर्नका लागि हरेकले चासो राख्नुपर्ने बताए । ‘जुनसुकै नगरवासीको पीरकर्मा समाधानका लागि मेयरको कार्यालय खुल्ला छ’, उनले भने, ‘नगरपालिकामा आएर प्रत्यक्ष भेटेर आफ्नो समस्या र सुझाव राख्न सक्नुहुनेछ ।’रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले सञ्चालन गरेको कार्यक्रममा रत्ननगर–३ का सदस्य एवं निःशुल्क स्वास्थ्य बिमा संयोजक शिव खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष खरेलले नागरिकले बाँच्न पाउने अधिकारबाट वञ्चित हुनुनपरोस् भन्ने उद्देश्यले स्वास्थ्य बिमाका लागि एक करोड रुपैयाँको बजेट छुट्याइएको र सोहीअनुरुप १६ वटै वडामा विपन्न तथा सुकुमबासी नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम थालनी गरिएको बताए । यस्तै, सामूहिक खेतीका लागि पनि ५० लाख रुपैयाँको बजेट छुट्याइएकोले विपन्न किसानले यसबाट लाभ लिन आग्रह गरे ।
कार्यक्रममा वडा नं ३ का स्वास्थ्य केन्द्र प्रमुख निर्दोषी घिमिरे, वडा सदस्यहरु देवी सुनार, ईश्वर जमरकट्टेल, बैशाखनी थरुनीलगायत महिला स्वास्थ्य सेविकाहरुको सहभागिता रहेको थियो ।