नव निर्वाचित सांसद ढकाल र थपलियालाई स्वागत तथा सम्मान

December 1, 2022 2:33 pm

रत्ननगर, मंसिर १५ ।

रत्ननगर उद्योग वाणिज्य संघ रत्ननगरले नवनिर्वाचित सांसदहरुलाई स्वागत तथा सम्मान गरेको छ । संघले चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हरि ढकाल र क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित प्रदेश सांसद जगन्नाथ थपलियालाई स्वागत तथा सम्मान गरेको हो ।

कार्यक्रममा नवनिर्वाचित सांसद हरि ढकालले जनताको आशा अपेक्षालाई पुरा गर्न सपथ ग्रहण अगावै काम सुरु गरेको बताए । उनले पुर्वी चितवनको विकासका लागि सबैसंग हातेमालो गरेर अघि बढ्ने बताए । ‘अहिले थिती र निती सही छैन, हामी थिती र निती सही बनाउन संसदमा दमदार रुपमा प्रस्तुत हुन्छौ ‘ ढकालले भने । उनले सरकारी स्वामित्वको कम्पनीहरुमा विलासिताको सामान खरिद रोक्दै त्यसमा खर्च गर्ने रकम अन्य आवश्यक ठाउँमा खर्च गर्न आफू लाग्ने बताए ।

कार्यक्रममा क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित प्रदेश सांसद जगन्नाथ थपलियाले पूर्वी चितवनको रत्ननगरमा रहेको बकुलहर अस्पताल र आयुर्वेदिक अस्पताललाई शिक्षण अस्पतालको रुपमा अगाडी बढाउन पहल गर्ने बताए । उनले बेरोजगार युवालाई रोजगार सिर्जना गर्ने, शिक्षा, स्वास्थ्य, कृषि, यातायात जस्ता अत्यावश्यक कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरी संघका पूर्व अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम संघका महासचिव निराजन खनालले संचालन गरेका थिए ।