उज्जवल महिला सहकारीको तिज शुभकामना कार्यक्रम

August 24, 2022 6:13 pm

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १ मा रहेको उज्जवल महिला विकास बचत तथा ऋण सहकारी संस्थाले बुधवार तीज विशेष कार्यक्रम गरेको छ ।

हरितालिक तीज तथा जितिया पर्वको अबसरमा सो सहकारीले तीज विशेष कार्यक्रमको आयोजना गरी शुभकामना साटासाट गरेका हुन । कार्यक्रममा महिलाहरुले गीत मार्फत सहकारी स्थापना गर्नुको उद्देश्य र सहकारीले विपन्न महिलाको जीवनयापनमा पारेको सकारात्मक प्रभावको जानकारी गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका मेयर प्रल्हाद सापकोटाले सहकारीले गरिव तथा विपन्न महिलाहरुको जीवन स्तर उकास्ने गरी काम गर्नुपर्ने बताए । उनले सहकारीले गर्ने उद्यमशिलताका कार्यक्रममा नगरपालिकाले सहयोग गर्ने बताए । कार्यक्रममा संस्थाकी अध्यक्ष सम्झना घिमिरेले सहकारीले विपन्न महिलाको सशक्तिकरणसंगै उद्यमी बनाउने गरी काम गरिरहेको बताइन ।

उनले सहकारीको सिद्धान्त, मर्म र भावना अनुसार नै कारोवार भइरहेको बताइन । कार्यक्रममा पूर्व अध्यक्ष ऋतु गिरीले उज्जवल सहकारी महिलाहरुले सञ्चालन गरेको सहकारी मध्ये उत्कृष्टताको नमुना रहेको बताइन । कार्यक्रममा वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटाले पनि मन्तव्य राखेका थिए ।

संस्थाकी अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चन्द्रकुमारी चौधरीले स्वागत मन्तव्य राखेकी थिइन । कार्यक्रम सचिव अम्विका पुरीले सञ्चालन गरेकी थिइन ।