जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त

July 31, 2022 5:47 pm

काठमाडौं। अर्थमन्त्रीमा जनार्दन शर्मा पुन: नियुक्त भएका छन्। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा अर्थमन्त्रीमा शर्मालाई नियुक्त गरेकी हुन्।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आएको अर्थमन्त्रालयको जिम्मेवारी शर्माले सम्हाल्ने गरी नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरी हाल प्रधानमन्त्रीले सम्हाली आएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोकेकी छन्।

बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थ मन्त्रालयभित्र लिएर राजस्वका दर हेरफेर गरेपछि विवादमा आएका उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए। शर्माले आजै साढे ५ बजे पद तथा गोपनियताको सपथ लिनेछन्।