रत्ननगरमा आज एमालेको वृहत चुनावी र्‍याली हुँदै

May 10, 2022 10:30 am

रत्ननगर, बैशाख २७ । नेकपा एमालेले आज रत्ननगरमा वृहत चुनावी र्‍याली गर्ने भएको छ । एमाले रत्ननगर नगर कमिटीको आयोजनामा हुन लागेको उक्त र्‍यालीमा एमालेबाट मेयर उपमेयरका उम्मेदवार र १६ वटै वडाका उम्मेदवारहरुको उपस्थिती हुनेछ ।

र्‍याली मध्यान्ह १२ बजेपछि पार्टी कार्यालय नजिकै रहेको रत्ननगर बसपार्कबाट सुरु भई टाँडी,सौराहाचोक,बकुलहर र निपनी चोकको परिक्रमा गरी बसपार्कमा आएर कोण सभा हुने नगर कमिटी अध्यक्ष इश्वरी अर्यालले जानकारी दिए । कोण सभामा एमाले बागमती प्रदेश इन्चार्ज काशिनाथ अधिकारी, एमालेका केन्द्रिय , प्रदेश, जिल्ला स्तरका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको अर्यालले बताए ।

बैशाख ३० गते हुने स्थानिय तहको चुनावको लागि एमालेले रत्ननगरमा मेयर पदको लागि बिमला दुवाडी र उपमेयर पदको लागि यादव पाठकलाई उम्मेदवार बनाएको छ । एमाले रत्ननगरले मौन अवधी सुरु हुन केही घण्टा बाँकी रहँदा वृहत चुनावी र्‍याली निकाल्न लागेको हो ।

आज मध्यराति १२ बजे मौन अवधि सुरु हुँदैछ । राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले मौन अवधि पालना गर्नुपर्छ।मौन अवधिभर निर्वाचन प्रचार–प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला र गोष्ठी आदि गर्न पाइँदैन।