पिठूवा दुग्ध उत्पादक सहकारीले दुग्धजन्य पदार्थ आफै उत्पादन गरि बिक्री गर्ने

October 24, 2021 12:53 pm

विष्णुबाबु जोशी/रत्ननगर,कार्तिक ७
दुग्ध संकलन तथा बिक्री वितरण गर्दै आएको रत्ननगरको पिठूवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दुग्धजन्य पदार्थहरु आफै उत्पादन गरि बिक्री वितरण गर्ने भएको छ । रत्ननगर १६ मा रहेको सहकारीले नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनासंग दुध तथा दुग्धजन्य पदार्थको उत्पादन तथा विविधिकरण र बजारिकरणका लागि सम्झौता भए बमोजिम दुग्धजन्य पदार्थहरु उत्पादन गरि बिक्री बितरण गर्न लागेको शनिबार सार्वजनिक सुनुवाई गरि जानकारी गराएको हो ।

करिब १ करोडको लागतमा संचालन हुन लागेको आयोजनामा ५० प्रतिशत सहकारी र ५० प्रतिशत लाइभस्टक सेक्टरले लगानी गरि दुग्धजन्य पदार्थहरु उत्पादन गर्न लागेको उप आयोजना कार्यक्रम संयोजक गंगाराम गुरुङले जानकारी दिए । रत्ननगर वडा नम्बर १६ का वडाध्यक्ष हेमराज थापाको प्रमुख आतिथ्यतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा थापाले किसानको हक हितका लागि सहयोग गर्न सधै तयार रहेको बताए । उनले किसानले उत्पादन गरेको दुग्धजन्य पदार्थको उपभोग गरि किसानलाई प्रोत्साहन गर्न आग्रह गर्दै आफुले पनि सहकारीले उत्पादन गरेको दुग्धजन्य पदार्थ उपभोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नेपाल लाइभस्टक सेक्टर इनोभेसनका प्रमुख डाक्टर बिदुर गौतमले सहकारीले दुग्धजन्य पदार्थहरु आफै उत्पादन गरि बिक्री वितरण गर्दा किसानलाई फाइदा पुग्ने दाबी गरे । गौतमले नेपालको उत्पादन विदेशमा निर्यात गर्ने उद्देश्यले पनि आयोजन संचालन गरिएको बताए ।

पिठूवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष बद्रि प्रसाद अर्यालको सभापतित्वमा भएको सार्वजनिक सुनुवाईमा भेटेरिनरी अस्पतालका निमित्त प्रमुख प्रभात न्यौपाने,नेपाली कांग्रेस रत्ननगरका सभापति प्रल्हाद सापकोटा,नेकपा समाजवादी नगर अध्यक्ष बद्रि घिमिरे,राप्रपा नगर अध्यक्ष गोबिन्द अधिकारी,रत्ननगर पशुपंक्षी शाखा प्रमुख शालिग्राम पौडेल, जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका सचिव किशोर बगाले लगायतको सहभागीता रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रम संस्थाका सचिव रामचन्द्र दवाडीले संचालन गरेका थिए ।