सर्वोच्चले संसद पुनस्र्थापना गर्छ भन्नेमा ढुक्क छु, प्रचण्ड

July 6, 2021 12:48 pm

जनकपुर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्ने दाबी गरेका छन्।
यसअघि पनि संसद विघटन हुँदा अदालतले नै संसद पुनस्र्थापना गरेको जिकिर गर्दै उनले फेरि पनि सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्ने बताए।
माओवादी केन्द्रका केन्द्रिय सदस्य महादेव यादवको निधनपछि श्रद्धाञ्जली अर्पण गर्न जनकपुरधाम पुगेका प्रचण्डले भने,
‘यसअघि पनि संसद विघटन हुँदा सर्वोच्च अदालतप्रति विश्वास थियो, यस पटक पनि अदालतले संसद पुनस्र्थापना गर्छ भन्ने हामीलाई विश्वास छ’, ‘संसद पुनस्र्थापना मात्रै गर्दैन, सर्वोच्च अदालतमा बुझाएको १ सय ४६ संसदको हस्ताक्षरको आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत जारी गर्ने हामीलाई विश्वास छ।’

संविधानको मर्म र भावना अनुसार, लोकतान्त्रिक मूल्य मान्यता अनुसार संसद पुनस्र्थापनाको कुनै विकल्प नरहेको उनको भनाई थियो।

प्रचण्डले प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई दवाब दिन खोजेको आरोप लगाए। ‘यसले उनी निरंकुशतातर्फ थप अग्रसर हुँदै छन भन्ने् प्रमाणित भई रहेको छ’, प्रचण्डले भने, ‘उहाँ निरंकुशता तर्फ अगाडि बढ्दै हुनुहुन्छ, उहाँ नेपाली जनताको नजरमा एक निरंकुश र लोकतन्त्र बिरोधी तत्वको रुपमा रहेको उजागर भईसकेको छ, उहाँले गरेर केही हुनेबाला छैन।’

उनले संविधान त्रूटीपूर्ण रहेको स्वीकार गर्दै संविधान संशोधनको पक्षमा आफू रहेको बताए। उनले वर्तमान संविधानबाट प्राप्त अधिकारको रक्षा गर्ने दायित्व हाम्रै रहेको बताए।
प्रचण्डले माओवादीका केन्द्रिय सदस्य महादेव यादवको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।