सातवटै प्रदेशमा नयाँ पर्यटकीय गन्तब्य छनौंट, यी हुन् सात प्रदेशका प्रमुख पर्यटकीय गन्तब्य

August 30, 2018 11:57 am

काठमाडौँ। सरकारले सीमित क्षेत्रमा केन्द्रिकृत भएको पर्यटन गतिविधिलाई विस्तार गर्ने उद्देश्यका साथ सातवटै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य छनोट गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेशमा पर्नेगरी नमूना पर्यटन गन्तव्य पहिचान गरी पर्यटन विकास क्षेत्र निर्माणको गुरुयोजना तयार गरेको हो ।

पर्यटन मन्त्रालयले हालै सार्वजनिक गरेको प्रगति प्रतिवेदनअनुसार प्रदेश नं १ मा इलामको सन्दकपुर, प्रदेश नं २ मा धनुषाको धनुषाधाम, प्रदेश नं ३ मा मकवानपुरको कुलेखानी (इन्द्रसरोवर), गण्डकी प्रदेशमा कास्कीको पञ्चासे, प्रदेश नं ५ मा कपिलवस्तुको निग्लिहवा, कर्णाली प्रदेशमा मुगुको रारा र प्रदेश नं ७ मा कैलालीको भादालार्इ पर्यटकीय गन्तव्यको रूपमा विकास गरिनेछ ।

सरकारको चालु आवको बजेट र नीति तथा कार्यक्रममा परेको सो योजना कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको पर्यटन मन्त्रालयको योजना महाशाखाका प्रमुख  सहसचिव नीता पोखरेलले बतार्इन्।उनले नमूना पर्यटकीय गन्तव्य विकास गर्न स्थान छनोट भई आवश्यक कार्यान्वयनका लागि पर्यटन विभागलाई जिम्मेवारी दिइएको जानकारी दिर्इन्।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले नमूना पर्यटकीय गन्तव्य विकासका लागि आवश्यक प्रक्रिया अघि बढाइएको बताए । “सात प्रदेशमा पर्यटकीय गन्तव्य निर्माणका लागि गुरुयोजना बनिसकेको छ, अब टेण्डर प्रक्रिया अघि बढाउँछौँ । कुन गन्तव्यका लागि कति बजेट चाहिन्छ आवश्यक गृहकार्य गरी मन्त्रालयलाई पठाउँछौँ,” उनले भने । नमूना गन्तव्यका लागि रु पाँच करोड विनियोजन गरिएको छ । यो पुरानो योजनाअनुसारको रकम भएको र पर्यटकीय गन्तव्यको विस्तृत विकासका लागि थप रकम विनियोजन हुनेछ ।

सय गन्तव्य काम अघि बढ्दै
सरकारले देशका ७७ जिल्लामा पर्ने नयाँ १०० पर्यटकीय गन्तव्यस्थल विकास गर्न बजेट विनियोजन गरी ठाउँ सिफारिशका लागि सार्वजनिक सूचना आह्वान गरिसकेको छ ।

हरेक प्रदेशमा कम्तिमा १० ठाउँलाई समेट्ने गरी  पर्यटकीय गन्तव्य विकास गर्ने योजना छ । उक्त कार्यका लागि मन्त्रालयले चालु आवमा रु ५० करोड विनियोजन गरेको छ ।

सय गन्तव्यस्थल विकासको काम छिट्टै अघि बढाइने मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए । बजेट तथा नीति कार्यक्रममा प्राथमिकतामा रहेको उक्त योजना कार्यान्वयनका लागि मातहतका निकायले प्रदेश सरकारसँग समन्वय गरी काम अघि बढाउनुपर्नेछ ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले जिम्मेवारी सम्हालेदेखि नयाँ पर्यटकीय गन्तव्य विकासको कार्यलाई आफ्नो प्रमुख कार्यभारको सूचीमा उल्लेख गरेका थिए । त्यसअनुरुप गन्तव्य विकासको आवश्यक प्रक्रिया अघि बढाइएको हो ।