महँगा गाडी भित्रिएपछि वीरगंज भन्सारको राजस्व असुली लक्ष्य भन्दा बढी, ६० करोड बढी संकलन

August 30, 2018 11:27 am

वीरगंज।वीरगंज भन्सारले चालु आर्थिक वर्षको पहिलो महिनामा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ।

कार्यालयका अनुसार साउनमा १२ अर्ब ६१ करोड ८७ लाख रुपैयाँ भन्सार असुली भएको छ।यो महिनामा १२ अर्ब १ करोड २४ लाख राजस्व संकलनको लक्ष्य राखिएको थियो।लक्ष्य भन्दा ६० करोड ६५ लाख बढी भन्सार असुली भएको छ।वीरगंज भन्सारका सूचना अधिकारी सन्तोष यादबका अनुसार साउनमा महँगा लक्जरी गाडी बढी भित्रिएकोले लक्ष्य भन्दा बढी राजस्व असुली भएको हो।

सरकारले चालु आर्थिक वर्षदेखि सीसी अनुसार गाडीको अन्तशुल्क निर्धारण गरेको थियो।बढी सीसी भएका गाडीमा बढी अन्तशुल्क कार्यान्वयनमा आएका कारण पनि असुली बढेको हो।कार्यालयले साउनमा भन्सार महसुल शीर्षकमा ५ अर्ब ६ करोड ४७ लाख २० हजार लक्ष्य पाएकोमा ४ अर्ब २६ करोड ४ लाख,४४ हजार राजस्व उठाएको छ ।

यो लक्ष्यको ८४ प्रतिशत मात्र हो ।त्यसैगरी मूल्य अभिवृद्धि करमा ५ अर्ब ३० करोड ८१ लाख १२ हजार लक्ष्यमा ५ अर्ब ३६ करोड ६६ लाख १७ हजार संकलन भएको छ ।यो लक्ष्यको १ सय १ प्रतिशत हो । अन्तशुल्कमा १ अर्ब ६३ करोड ९५ लाख ७७ हजार लक्ष्य पाएकोमा ३७ प्रतिशत बढि २ अर्ब २५ करोड ७० लाख ४६ हजार असुली भएको छ।

कार्यालयका अनुसार पुर्वाधार कर ५० करोड २४ लाख ६० हजार संकलन भएको छ।गत वर्षको साउनमा कार्यालयले लक्ष्य भन्दा ८ प्रतिशत राजस्व कम उठाएको थियो । ९ अर्ब ४० करोड ७४ लाख ७० हजार लक्ष्य पाएकोमा ८ अर्ब ७२ करोड ३१ लाख ८ हजार राजस्व संकलन भएको थियो ।