नेपालमा उद्यमशीलता र प्रविधि शिक्षामा उत्कृष्ट अभ्यासका लागि सहकार्य

August 6, 2018 11:59 am

काठमाडौं, साउन १८ । अमेरिकी विश्वविद्यालय म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलाजी (एमआईटी) ले काठमाडौं विश्वविद्यालय र एनसेलसँगको सहकार्यमा संचालन गरेको एमआईटी ग्लोबल स्टार्टअप ल्याब्स् (जिएसएल) को सात हप्ता पुरा भएकाे छ । लामो गहन इनोभेटिभ बुटक्याम्पमा सहभागी ९ विद्यार्थी समुहहरुले बिहीबार (साउन १७) ‘डेमो डे’ को अवसरमा आ—आफ्ना स्टार्टअप आईडिया र व्यावसायिक योजना निर्णायक मण्डल सामु प्रस्तुत गरेका छन् । सहभागी विद्यार्थीहरुलाई आफ्ना नविन सोचमा आधारित उद्यमशीलताका योजनाहरु प्रस्तुत गर्न र नेपालमा स्टार्टअप कल्चरलाई प्रेरणा प्रदान गर्न डेमो डे आयोजना गरिएको हो ।

डेमो डेमा स्वास्थ्य, शिक्षा, पर्यटन र व्यावसायिक सेवा लगायतका क्षेत्रलाई सम्बोधन गर्ने गरी विभिन्न विशिष्ट स्टार्टअप आईडियाहरु र यी आईडियाहरुमा आधारित भई तयार पारिएका प्रोटोटाइपहरु प्रस्तुत गरिएका थिए । यी स्टार्टअप आईडियाहरुले सम्बन्धित क्षेत्रका सेवा प्रवाहलाई थप परिस्कृत गर्न मद्दत गर्ने सम्भावना बोकेका छन् । प्रस्तुत गरिएका प्रोटोटाइपहरुले एमआईटी जिएसएल कार्यक्रमका दौरान विद्यार्थीहरुले सिकेका कौशलहरु प्रतिबिम्वित गरेका थिए ।

डेमो डेमा उद्यमीहरु, विभिन्न व्यवसायका नेतृत्वकर्ताहरु, शैक्षिक क्षेत्रका प्रतिनिधी तथा अधिकारीहरु र संभावित लगानीकर्ताहरु उपस्थित थिए ।

एमआईटी जिएसएल कार्यक्रम एमआईटी, काठमाडौं विश्वविद्यालय र एनसेलको सहकार्यमा नेपालमा पहिलो पटक संचालन गरिएको हो । कार्यक्रममा सहभागी काठमाडौं विश्वविद्यालयका ३५ विद्यार्थीहरुले आफुहरुलाई ९ वटा समुहमा आबद्ध गराई आ—आफ्ना स्टार्टअप आईडियामा काम गरेका थिए । उनीहरुलाई एमआईटीका चार प्रशिक्षकहरुले प्रत्यक्ष प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका विद्यार्थी र आल्मुनाईका १५० आवेदक मध्येबाट छानिएका यी ३५ विद्यार्थीका ९ समुहले सात हप्ता सम्मको प्रशिक्षण, सिकाई र बजार अनुसन्धान पश्चात आफ्ना स्टार्टअप आईडियाहरु प्रस्तुत गरेका हुन् । पेजभ्याम्प डटकमका सिओओ तथा सह–संस्थापक अतुल्य पाण्डे, खालिसिसीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आयुसी केसी, अर्बन गर्ल, युजि केक्स् र युजि चक्लेटस्का सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत निकिता आचार्य र लिपफ्रगका संस्थापक तथा अध्यक्ष हिमाल कर्माचार्य संलग्न रहेको निर्णयक मण्डलले स्टार्टअप आईडियाहरुलाई मुल्यांकन गरेका थिए ।

“एमआईटीलाई नेपालमा उपस्थित गराउने ठूलो सपना थियो । म सबै समुह र तिनीहरुका स्टार्टअप आईडियाबाट उत्साहित छु । सात हप्ताको एमआईटी कार्यक्रमबाट उनीहरुले धेरै सिकेका छन् । निर्णायक मण्डलको एक सदस्यका नाताले मुल्याङ्कन गर्दा मैले सहभागीहरुमा एमआईटीमा प्रतिपादित डिसिप्लिन्ड इन्टरपे्रनरशिपको ट्वान्टि फोर स्टेप्स्को स्पष्ट प्रभाव अनुभव गरें । अबको चरण भनेको एमआईटीका इन्टर्नहरु नेपालमा ल्याई क्रस लर्निङ् प्रवर्धन गर्नु हो,” कर्माचार्यले भने ।

डेमो डेको प्रमुख वक्ता एमआईटी आल्मुनाई एमबिए २०१३ की सदस्य, व्यवसायी तथा भुन्टुकी संस्थापक सुमना श्रेष्ठले कार्यक्रमका सहभागीहरुलाई हौसला प्रदान गरिन् ।

निर्णायक मण्डलले तीन उत्कृष्ट स्टार्टअप आईडियाहरु ‘सजिलो मर्मत सेवा’लाई प्रथम, ‘किन्डर’लाई द्वितीय र ‘ओपस’लाई तृतीय घोषित गरेका छन् । यी तीन समुहले पुरस्कार स्वरुप एमआईटीको अनलाईन कोर्ष माइक्रो मास्टर कोर्ष (एमएमसी) पाउनुका साथै एनसेलका तर्फबाट प्रथम भएको आईडियाले रु ५००,०००, द्वितिय ठहरिएको आईडियाले रु ३००,००० र तृतीय भएकोे आईडियाले रु २००,००० सिड फण्ड पाएका छन् । विजयी तीन स्टार्टअप आईडियाहरुलाई काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) इन्क्युबेसन सेन्टरले इन्क्युबेसनका लागि स्थान दिंदै प्रशिक्षण सुविधा पनि प्रदान गर्नेछ । अन्य सहभागी समुहका विद्यार्थीहरुले पनि सान्त्वना पुरस्कार स्वरुप एमआईटीको इडिएक्स सर्टिफिकेट कोर्ष प्राप्त गरेका छन् ।

एमआईटीले विगत १८ वर्ष देखि यो कार्यक्रम दक्षिण एसियाको भारत र श्रीलंका लगायत विश्वका विभिन्न २५ राष्ट्रहरुमा संचालन गर्दै आएको छ । कार्यक्रमले प्रविधिमा आधारित युवा उद्यमीहरुको प्रवर्धन गर्दै विकासशील राष्ट्रहरुको आर्थिक विकासमा योगदान पु¥याउदै आएको छ ।

“मलाई लाग्छ यो कार्यक्रमले सहभागीहरुलाई निकै ठूलो फाईदा पुर्याएको छ र हाम्रा एमआईटीका विद्यार्थीहरुको पनि शैक्षिक विकास गरेको छ । मलाई आशा छ सहभागी विद्यार्थीहरुले गतिशिल व्यवसायका लागि एमआईटीको काम गर्दै सिक्ने शैलीबाट एक समृृद्ध अनुभव बटुलेका छन् । एमआईटी समुदायलाई नेपालको स्थानिय इकोसिस्टमसँग संलग्न हुन यो एक राम्रो तरीका भएको छ र हामीले पनि हाम्रा विद्यार्थीहरुले जत्तिकै सिक्ने मौका पाएका छौ । मलाई आशा छ पछिल्लो केही महिनामा सिर्जना भएका उर्जा र सद्भावले एमआईटी, काठमाडौं विश्वविद्यालय र एनसेलको सहकार्यलाई निरन्तरता दिन मद्दत गर्नेछ । म यो सहकार्यले ल्याउने नतिजा पर्खिने छु र बलियो समझदारीलाई निरन्तरता दिन चाहन्छु । म हाम्रो आल्मुनाईको सहयोग, काठमाडौं विश्वविद्यालको फ्याकल्टी र एनसेलका सबैलाई धन्यबाद दिन चाहन्छु,” एमआईटीको इतिहास संकायका प्रमुख तथा एमआईटी–नेपाल कार्यक्रमका लागि फ्याकल्टी लिड प्रोफेसर जेफ्री एस. राभेलले भने ।

एमआईटी जिएसएल नेपाल २०१८ की प्रमुख प्राविधिक प्रशिक्षक ज्याकी सुले भनिन्, “आफ्नो प्रस्तुती तथा न्युनतम संभाव्य उत्पादनलाई निखार्नका लागि यी सात हप्तामा हाम्रा विद्यार्थीहरुले गरेको परिश्रम तथा उनीहरुको निष्ठा तथा लगावले हामीलाई चकित पारेको छ । डेमो डेको नतिजा जे भए पनि आफ्नो काम जारी राख्ने तथा नेपालको भविष्य निर्माण गर्ने कौशल र साहस उनीहरुमा विकास भएको छ ।”

कार्यक्रमलाई सम्बोधन गर्दै आजियाटा ग्रुपका दक्षिण एशिया क्षेत्रीय प्रमुख कार्यकारी अधिकृत डा. हान्स विजयसुरियाले भने, “युवाहरु नै डिजिटल नेपालका मेरुदण्ड, पोषण तथा उर्जा हुन् । नेपालमा एमआईटी जिएसएल यस्तो समयमा भएको छ जब संसारमा चौथो औद्योगिक क्रान्ति चलिरहेको छ । यो क्रान्तिले प्रत्येक व्यक्तिलाई मोवाइल उपकरणले सिर्जना गरेको पहुँचमा आधारित भई कृषि, शिक्षा, स्वास्थ लगायतका सबै क्षेत्रमा ईनोभेसन गर्दै सामाजिक क्षेत्रमा रहेका खाडल हटाउन, समृद्धि हासिल गर्न र समावेशी समाज निर्माण गर्ने अवसर प्रदान गरेको छ ।”

एनसेलका प्रबन्ध सञ्चालक सुरेन जे. अमरासेकराले भने, “सबै संलग्न पक्षका लागि यो एमआईटी जिएसएल कार्यक्रमको यात्रा अभूतपूर्व हुन गएको छ । नेपाली युवाका लागि हामी सँधै नै यस्तो कार्यक्रम गर्न चाहन्थ्यौं र सो कार्यक्रम उत्कृष्ट साझेदारसँग होस् भन्ने हाम्रो कामना थियो । यो सहकार्यका लागि हामी एमआईटी र काठमाडौं विश्वविद्यालयलाई धन्यवाद ज्ञापन गर्दछौं । एमआईटीको ज्ञान आर्जन र उद्यम निर्माण गर्ने शैलीले प्रतिभाशाली नेपाली युवालाई पक्कै उत्प्रेरित गरेको हुनुपर्छ । सहभागी युवाहरुले कार्यक्रमका दौरान प्राप्त अनुभवलाई प्रयोग गर्दै नेपाली डिजिटल ईकोसिष्टमको विकास गर्नेछन् र अन्तर्राष्ट्रिय प्रभाव सिर्जना गर्ने तर्फ पनि काम गर्नेछन् भन्ने हाम्रो आशा छ ।”

काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. राम कण्ठ मकाजु श्रेष्ठले भने, “काठमाडौं विश्वविद्यालयमा हामी सँधै ज्ञानको प्रत्यक्षीकरणमा विश्वास गर्दछौं । एमआईटी जिएसएल जस्ता कार्यक्रमले सुखद स्मृतिहरु निर्माण गर्छन् र तिनको सबैले अनुकरण गर्दछन् । प्रिय नेपाली युवाहरुलाई बधाई छ ।”