मनकामना मन्दिरमा परेवा उडाउन प्रतिबन्ध

March 7, 2023 11:39 am

फाल्गुण २३, गोरखा ।

प्रसिद्ध मनकामना मन्दिरमा परेवा चढाउन प्रतिबन्ध लगाइएको छ । सहिद लखन गाउँपालिका, मनकामना क्षेत्र विकास समिति तथा उद्योग वाणिज्य संघको मनकामना बजार इकाईसंग समन्वय गरी आइतबारदेखि परेवा चढाउन निषेध गरिएको हो ।

चढाइएका परेवा अत्याधिक मर्ने र व्यवस्थापन गर्न नसक्दा परेवा चढाउने कार्यक्रम नै बन्द गरिएको मनकामना क्षेत्र विकास समितिले जनाएको छ ।

मनकामना मन्दिरमा दैनिक सरदर तीन, चार हजार भक्तजन आउँछन् । उनीहरुमध्य सय जनाले परेवा ल्याए भने पनि दुईसय परेवा दैनिक मन्दिरमा चढ्छन् । ती परेवाको व्यवस्थापन गर्न मन्दिरलाई समस्या भएको क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशी बताउँछन् । ‘देशका विभिन्न ठाउँबाट ल्याइएका परेवा यहाँको वातावरण अनुकूल हुदैनन् । ५०, ६० प्रतिशत परेवा त चढाएकै रातमा मर्छन्’, जोशी भन्छन्, ‘हरेक बिहान सफा गर्ने क्रममा डोकोका डोको परेवा मरेका परेवा फाल्नुपर्छ । जीवित परेवा राख्न परेवा पाटी पनि छैन । मरेका परेवा फाल्ने ठाउँको समेत अभाव भयो । त्यसैले रोक्न बाध्य भएका हौँ ।’

वाह्य वातावरणका साथै मन्दिरमा प्रयोग गरिएको सुनौला छाना पनि परेवाका कारण क्षति हुने उनीहरुको भनाइ छ । जिर्णोद्वार गर्दा मन्दिरको छानामा सुनको जलप लगाइएको छ । परेवाको दिसाले सो सुनको जलप तथा छानाको रुपलाई कुरुप गर्ने भएकाले पनि परेवा उडाउन रोक लगाइएको उनीहरुको भनाइ छ ।

बिगतमा बर्डफ्लु फैलिएपछि पनि परेवा उँडाउन निषेध गरिएको थियो । फेरि लुकिछिपी ल्याउने र चढाउन थालेका थिए । पछिल्लो समय मन्दिरमा परेवा चढाउनेको संख्यामा बृद्वि हुदै गएपछि पुनः परेवा उडाउनमा प्रतिवन्ध लगाइएको सचेतना अभियान सञ्चालक राजेन्द्र लामाले बताए । ‘परेवाका कारण मन्दिर प्रदुषित भएपछि पुजारीको विशेष अनुरोधमा हामीले फेरि आइतबारबाट यो अभियानलाई कडाइका साथ सञ्चालन गरेका छौँ’, लामाले भने, ‘अहिले त परेवा चढाउने संकल्प समेत गर्न बन्द गरिएको छ । परेवाको विस्टा र मरेका परेवाले मन्दिरको आन्तरिक र वाह्य स्वरुप कामै नलाग्ने गरी बिगारेकाले मन्दिरलाई स्वच्छ, सफा र हराभर बनाइ राख्न परेवा उडाउन निषेध गरिएको हो ।’

अभियानमा मन्दिरका पुजारी, मनकामना मन्दिर रहेको पालिका शहिद लखन गाउँपालिका वडा नम्बर २ र ३, मनकामना क्षेत्र विकास समिति र उद्योग बाणिज्य संघ, मनकामना ईकाइ तथा स्थानिय संघ संस्थाहरुको पनि सहयोग रहेको उद्योग बाणिज्य संघ, मनकामना ईकाइ समितिका अध्यक्ष हरि श्रेष्ठले बताए ।

परेवा उँडाउन निषेध गरिएको बारे चितवनको चेरेशस्थित मनकामना प्रवेशद्वार, मनकामना केबलकारको मुलगेट आसपास पनि सूचना गरिएको छ । परेवा निषेध बारे सूचना प्रवाह गर्न स्कूल तथा कलेजका विद्यार्थीको पनि प्रयोग गरिएको उनले बताए ।

यो हप्ताभरि मनकामना मन्दिरमा आउनेहरुलाई ‘परेवा निषेध’ लेखिएको पर्चा बितरण गरिने र अर्को हप्तादेखि परेवा लिएर आएमा फिर्ता गर्न थालिने सो अभियानका सञ्चालक लामा बताउँछन् । मनकामना दर्शन प्रालिलाईसमेत पत्राचार गरेर केबलकारमा यात्रा गर्ने जो कोहीलाई पनि मनकामनामा परेवा लैजान निषेध गर्न अनुरोध गरेको छ ।

देवीको नाममा मन्दिरमा चढाइएको परेवाका कारण समस्या पैदा भएको मनकामना मन्दिरका मूल पुजारी इन्सानबहादुर थापाले बताए । परेवाको उचित बासस्थान र चारोको अभावका कारण समस्या भएको उनको भनाइ छ । अन्नपुर्णपोस्ट मा खबर छ ।