रामु आचार्य।
२९ श्रावण, रत्ननगर। खैंजडी भजन गायनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका तथा सर्जक उमा बिडारीको नयाँ तीज गीत ‘म कस्ती देखिए’ सार्वजनिक भएको छ। तीज पर्वको मौलिकता, भावना, संस्कार तथा सांस्कृतिक पक्षलाई समेटिएको गीतमा नेपाली समाजमा तीजको महत्व र महिलाका भावनालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। ‘म कस्ती देखिए’ मा गायिका उमा बिडारीकै शब्द, संगीत र स्वर रहेको छ। मौलिक लोकलयको स्वादसहित तयार पारिएको गीतलाई श्रोता–दर्शकले रुचाउने अपेक्षा गरिएको छ।
गीतको संगीत संयोजन सबिर कार्कीले गरेका छन् भने रेकर्डिङ अभि शर्माको रहेको छ। गीतको मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीले गरेका हुन्। गीत हुरी स्टुडियोमा रेकर्ड गरिएको हो। त्यस्तै, गीतको म्युजिक भिडियोको निर्देशन, कोरियोग्राफी तथा छायांकन टेक राज पोखरेलले गरेका छन्। भिडियोमा तीजको सांस्कृतिक परिवेश र मौलिकतालाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ।
‘म कस्ती देखिए’ सार्वजनिक भएसँगै उमा बिडारीले तीज गीतमार्फत आफ्नो सिर्जनात्मक यात्रालाई थप फराकिलो बनाएकी छन्। गीतले मौलिक तीज संस्कृति र लोकसंगीतको संरक्षण तथा प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ।