रत्ननगर, साउन २६ ।
रत्ननगर नगरपालिकाले अबदेखि नक्सापास नगरी निर्माण गरिएका पुराना घर, टहरा र अन्य संरचनाहरूको अभिलेखीकरण र नक्सापास नगर्ने निर्णय गरेको छ।नगरपालिकाले जारी गरेको विज्ञप्ति अनुसार, शहरी विकास मन्त्रालयको निर्णय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र बमोजिम यो व्यवस्था लागू गरिएको हो।
यसअघि नगरपालिकाले नक्सापास नगरी बनेका संरचनाहरूको पनि अभिलेखीकरण र नक्सापास गर्दै आएको थियो, तर अबदेखि यस्तो व्यवस्था पूर्णरूपमा बन्द गरिएको छ।यसका साथै, नगरपालिकाले नक्सापास अनुमति लिएर पनि स्वीकृत नक्साभन्दा अतिरिक्त निर्माण गरेका वा संरचनामा परिवर्तन गरेका घरहरूको पनि नक्सापास अनुमति नदिने जनाएको छ।
नगरपालिकाका अनुसार यस्ता संरचनाहरूको अभिलेखीकरण सम्बन्धी सबै प्रक्रियाहरू अब बन्द भएका छन्। यसबाहेक, राजमार्गको केन्द्रविन्दुबाट २५ मिटर मात्र छोडेर बनेका घरहरूलाई पनि निर्माण सम्पन्न प्रमाण पत्र जारी नगर्ने नगरपालिकाको निर्णय छ। यस निर्णयले सम्पत्ति कर असुलीमा नागरिकलाई पर्ने असुविधालाई वडा कार्यालयबाटै व्यवस्थापन मिलाइने विज्ञप्तिमा उल्लेख छ ।