नेपालमै अवसर सिर्जना गर्ने लक्ष्यसहित रत्ननगरमा ओमेटो मार्केटप्लेस तथा ओमेटो पार्टनर्सको शुभारम्भ

July 26, 2026 7:58 pm

रत्ननगर, श्रावण १०। “जे गर्छु म नेपालमै गर्छु, नेपालमै जन्मेँ, नेपालमै फुल्नेछु” भन्ने मूल नारालाई आत्मसात गर्दै ओमेटो मार्केटप्लेस तथा ओमेटो पार्टनर्सको रत्ननगर शाखाको आज एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरिले प्रमुख अतिथिका रूपमा रिबन काटेर शाखाको औपचारिक उद्घाटन गर्नुभएको हो।

कार्यक्रममा ओमेटो कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सागर पोखरेल, रत्ननगर नगरपालिका–१० का वडाध्यक्ष कलाधर पौडेल, ओमेटो कम्पनीका निर्देशक सूर्य कार्की, संस्थापक लिडर रमेश अधिकारी तथा प्रदेश कमिटीका पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शंकर गिरिले कम्पनीको “जे गर्छु म नेपालमै गर्छु” भन्ने नाराले युवाहरूलाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर खोज्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय उत्पादनलाई प्राथमिकता दिनुका साथै महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीको बजारीकरणमा ओमेटोले खेलेको भूमिकाको प्रशंसा गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। विशिष्ट अतिथि तथा ओमेटो कम्पनीका सीईओ सागर पोखरेलले ओमेटोको अभियान देशव्यापी रूपमा विस्तार भइरहेको उल्लेख गर्दै यो व्यक्तिगतभन्दा पनि सामूहिक व्यावसायिक यात्राको अभियान भएको बताउनुभयो। देशभरिका युवा, उद्यमी तथा व्यवसायीलाई एउटै साझा सञ्जालमा आबद्ध गराउँदै स्वदेशमै आर्थिक अवसर सिर्जना गर्ने उद्देश्यका साथ कम्पनी अघि बढिरहेको उहाँको भनाइ थियो।

विशिष्ट अतिथि तथा रत्ननगर–१० का वडाध्यक्ष कलाधर पौडेलले रु. ५ हजार बराबरको सामान खरिद गर्दा सदस्यलाई दीर्घकालसम्म प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो। यस प्रकारको अवधारणाले स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउने र दीर्घकालीन रूपमा सदस्यहरूलाई फाइदा पुग्ने उहाँले उल्लेख गर्नुभयो। कार्यक्रम ओमेटो टाँडी शाखाका प्रमुख तथा मार्ट लगानीकर्ता विष्णु प्रसाद भट्टराईको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने मार्ट लगानीकर्ता निर्मला दंगालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। रत्ननगर क्षेत्रका विभिन्न सामाजिक, व्यावसायिक तथा अन्य संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागितामा सम्पन्न कार्यक्रमले स्वदेशमै उत्पादन, लगानी, रोजगारी र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यलाई थप बल पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका थिए।