जीएसटी कलेज रत्ननगरले ‘लन्चप्याड २.०’ आयोजना गर्दै : श्रावण १७ गते बीबीए प्रवेश परीक्षा

July 20, 2026 5:13 pm

रत्ननगर, साउन ४ ।

सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पूर्वी चितवनकै पहिलो बीबीए कलेज जीएसटी कलेजले प्लस टु उत्तीर्ण गरेका तथा परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरूका लागि ‘लन्चप्याड २.०’ कार्यक्रम आयोजना गर्ने भएको छ।

कलेजले सोमबार पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार उक्त कार्यक्रम यही श्रावण १० गते बिहान ११ बजे रत्ननगर–१, निपनीस्थित होटल स्टार चितवनमा हुने छ।

यो वर्षको कार्यक्रमको मुख्य विषय ‘फ्रम ब्रेन ड्रेन टु ब्रेन गेन : द राइज अफ जेन–जी इन नेपाल’ रहेको छ। कार्यक्रममा पूर्वी चितवनका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्वहरूबीच नेपालमै गुणस्तरीय शिक्षा, युवाहरूको भविष्य र स्वदेशमै अवसर सिर्जना गर्ने विषयमा छलफल हुनेछ।

क्याम्पस प्रमुख राजकुमार दाहालका अनुसार ‘लन्चप्याड’ केवल एक कार्यक्रम मात्र नभई विद्यार्थीको क्षमता र करियरलाई नयाँ उचाइमा पुर्‍याउने अभियान हो। यसले विद्यार्थीहरूलाई उच्च शिक्षाको सही निर्णय लिन सहयोग गर्नेछ। कार्यक्रममा शैक्षिक मार्गदर्शनसहित रिफ्रेसमेन्ट, डीजे प्रस्तुति र शुभकामना कार्यक्रम पनि समावेश गरिएको छ।

कलेजका अध्यक्ष हरिशरण पाठकले विद्यार्थीलाई विदेश नभई नेपालमै पढाउने कलेजको मुख्य उद्देश्य रहेको बताए। प्रबन्ध निर्देशक इन्जिनियर दिवस मैनालीले यो कार्यक्रमले प्लस टु उत्तीर्ण विद्यार्थीहरूलाई नयाँ सम्भावनाहरू पहिल्याउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे।

यसैबीच, कलेजले आगामी २०८३ साल श्रावण १७ गते बिहान ८ बजे कलेज परिसरमै बीबीए प्रवेश परीक्षा सञ्चालन गर्ने जानकारी दिएको छ। प्रवेश परीक्षाका लागि इन्ट्रान्स तयारी कक्षा पनि सुरु भइसकेको छ। इच्छुक विद्यार्थीहरू समयमै तयारी कक्षामा सहभागी हुन सक्ने कलेजले जनाएको छ।