१८ असार, रामु आचार्य ।
रत्ननगर । श्रीकृष्ण प्रणामी मन्दिर वृजधाम टिकौलीका संस्थापक महन्त ब्रह्मलिन गुरुजी श्री १०८ वृजदासजी महाराजको प्रथम वार्षिक तिथिको स्मृतिमा आयोजित श्रीमत्तारतम सागरको अखण्ड पाठ–पारायण तथा प्रतिमा अनावरण कार्यक्रमको समापन समारोह शनिबार सम्पन्न भएको छ।
श्रीकृष्ण प्रणामी मन्दिर, रत्ननगर–१० का अध्यक्ष लिलाराज सुवेदीको सभापतित्व तथा रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रकाश खनाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख सापकोटाले मानिस जीवनको जुनसुकै चरण वा अवस्थामा पुगे पनि अध्यात्म र धर्म अपरिहार्य रहेको बताउनुभयो। धर्मसँग जोडिएपछि मानिसमा लोभ, लालच, स्वार्थ र अनावश्यक प्रतिस्पर्धाको भावना क्रमशः हट्दै जाने उल्लेख गर्दै उहाँले सभ्य, नैतिक र अनुशासित समाज निर्माणका लागि धर्मको मार्ग अनुसरण गर्न आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, श्री नवतन धामका महन्त स्वामी श्री १०८ पुरुषोत्तमजी महाराज, श्रीकृष्णकृपा धाम देवघाटकी संरक्षक श्री १०८ तारा माताजी, श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय अध्यक्ष श्यामकृष्ण शर्मा, धार्मिक संरक्षण मण्डल सचिवालय सदस्य तिलक शर्मा पौडेल, निवर्तमान केन्द्रीय कोषाध्यक्ष होमनाथ बराल, श्रीकृष्ण प्रणामी बाईजुराज महिला केन्द्रीय सदस्य शोभा ओली शर्मा तथा जिल्ला कार्यसमिति अध्यक्ष दिपक चन्द्र शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
वक्ताहरूले ब्रह्मलिन गुरुजी श्री १०८ वृजदासजी महाराजले धर्म, आध्यात्मिक चेतना, नैतिक शिक्षा तथा समाज सेवाका क्षेत्रमा पुर्याउनुभएको योगदानको स्मरण गर्दै उहाँका आदर्श र मार्गदर्शनलाई आगामी पुस्तासम्म पुर्याउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले श्रीमत्तारतम सागरको अध्ययन र सत्संगले समाजमा आध्यात्मिक चेतना, नैतिक मूल्य, सद्भाव र मानव सेवाको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
ब्रह्मलिन गुरुजीको प्रथम वार्षिक तिथिको अवसरमा आयोजित अखण्ड पाठ–पारायण तथा प्रतिमा अनावरण कार्यक्रममा चितवनसहित विभिन्न जिल्लाबाट आएका साधु–सन्त, धर्मगुरु, जनप्रतिनिधि, समाजसेवी तथा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अन्त्यमा आयोजकले सम्पूर्ण सहयोगी, अतिथि तथा सहभागीप्रति आभार व्यक्त गर्दै धार्मिक तथा आध्यात्मिक गतिविधिलाई आगामी दिनमा समेत निरन्तरता दिइने जनाएको छ। कार्यक्रम श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका सचिव बालकृष्ण अमगाईंले संचालन गर्नुभएको थियो ।