चितवनमा दोस्रो रक्तदान महोत्सव हुँदै : रक्तदान गर्नेलाई ‘फग सेन्ट’को उपहार

June 11, 2026 10:13 am

रत्ननगर, २८ जेठ ।

ब्लड डोनर्स सोसाइटी नेपाल चितवन जिल्ला शाखाको आयोजनामा जेठ ३० गते भरतपुरमा ‘दोस्रो ऐतिहासिक रक्तदान महोत्सव २०८३’ हुने भएको छ। भरतपुर महानगरपालिका-१०, दूरसञ्चार रोडस्थित चितवन उद्योग संघको प्रदर्शनी हलमा महोत्सव आयोजना गरिएको हो।

विश्व रक्तदाता दिवसको अवसर पारेर आयोजना गर्न लागिएको यस महोत्सवको मुख्य उद्देश्य रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने, नयाँ रक्तदाता उत्पादन गर्ने तथा समाजमा मानवीय सेवाको भावना विस्तार गर्नु रहेको छ। महोत्सवलाई भव्य र ऐतिहासिक रूपमा सम्पन्न गर्नका लागि चितवन जिल्ला शाखाका अध्यक्ष एकराज बुर्लाकोटीको संयोजकत्वमा ९ सदस्यीय स्टेरिङ समिति गठन गरिएको छ। समितिको सदस्यहरूमा संस्थाका संस्थापक अध्यक्ष अर्जुन अधिकारी, केन्द्रीय अध्यक्ष अन्जन दवाडी, रक्तभियन्ता राजेन्द्र प्रसाद पौडेल, मनरुपा पौडेल, बालचन्द्र पोखरेल, नारायण शर्मा, रामचन्द्र लम्साल र राज सिल्वाल रहेका छन्।

यस पटकको महोत्सवमा रक्तदाताहरूको उत्साहजनक सहभागिता गराउन विशेष आकर्षक उपहारहरूको व्यवस्था गरिएको छ। महोत्सवमा रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरूलाई ‘फग सेन्ट’ अङ्कित विशेष कप उपहारस्वरूप प्रदान गरिनुका साथै सेन्ट निःशुल्क परीक्षण गर्ने अवसर समेत उपलब्ध गराइने सोसाइटीका कार्यकारी उपाध्यक्ष रमेश नेपालले जानकारी दिए। सहभागी रक्तदाताहरूलाई गोलाप्रथामार्फत थप विशेष उपहार प्रदान गरिने कार्यक्रम समेत तय गरिएको उनले बताए।

भरतपुर महानगरपालिका प्रवर्द्धक रहेको यस महोत्सवको सहयोगी संस्थाहरूमा चितवन उद्योग संघ र नेपाल कल्याण समाज जापान रहेका छन्। ‘रक्तदान महादान हो, जीवन बचाउने महान अभियान हो’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रममा आफ्नो एक पोका रगतले कसैको जीवन बचाउन र सुन्दर सपना साकार पार्न मद्दत गर्ने भएकाले सम्पूर्ण रक्तदाता, सामाजिक अभियन्ता, युवा तथा सर्वसाधारणहरूलाई भोलिको महोत्सवमा उपस्थित भई मानव सेवाको यस अभियानमा साथ दिन आयोजकले अपिल गरेको छ।

गत वर्ष ब्लड डोनर्स सोसाइटी नेपाल चितवन शाखाकै आयोजनामा सम्पन्न भएको ‘प्रथम ऐतिहासिक रक्तदान महोत्सव’ले नेपालमै नयाँ रेकर्ड कायम गरेको थियो। चितवनका सातवटै पालिकाका रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको उक्त पहिलो महोत्सवमा १,७१७ जनाले रक्तदान गरेका थिए, जुन नेपालमा एकै दिन र एकै स्थानमा सञ्चालित रक्तदान कार्यक्रमहरूमध्येकै सर्वाधिक रगत सङ्कलनको राष्ट्रिय रेकर्ड हो। गत वर्षको सोही ऐतिहासिक सफलतालाई निरन्तरता दिँदै यस वर्ष पनि रगतको अभाव टार्न दोस्रो संस्करण आयोजना गरिएको आयोजकले जनाएको छ।