रत्ननगर, २६ जेठ ।
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सातौँ अधिवेशनबाट निर्वाचित वडा समितिका सदस्यहरूको शपथग्रहण कार्यक्रम मङ्गलवार सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृत प्रकाश खनालले नवनिर्वाचित सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
सदस्यहरूको शपथग्रहणसँगै नवनिर्वाचित मूल समिति र लेखा समितिका पदाधिकारीहरूबीच परिचयात्मक कार्यक्रम समेत आयोजना गरिएको थियो। कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर यादवप्रसाद पाठकले निर्वाचनका क्रममा उपभोक्तासामु गरिएका प्रतिबद्धता तीन वर्षभित्र पूरा गर्न नवनिर्वाचित समितिलाई आग्रह गर्नुभयो। उपमेयर पाठकले चुनाव जित्नका लागि गरिएका वाचाहरू व्यवहारमा उतारेर उपभोक्ताको विश्वास जित्नुपर्नेमा जोड दिनुभयो।
संस्थाका अध्यक्ष दीपक पौडेलले करिब १६ हजार उपभोक्ता रहेको यस संस्थाले नगरभित्रका हरेक घरमा शुद्ध पिउने पानी पुर्याउने लक्ष्यका साथ काम गरिरहेको जानकारी दिनुभयो। उहाँले उपभोक्ताको हितलाई सर्वोपरि राखेर काम गर्न नयाँ कार्यसमितिलाई निर्देशन समेत दिनुभयो।
यसैगरी, संस्थापक अध्यक्ष नारायण बनले संस्थाको स्थापना कालको स्मरण गर्दै धारा जडान र पाइप बिछ्याउने क्रममा विगतमा भएको सङ्घर्षको चर्चा गर्नुभयो। उहाँले अहिले उपभोक्ताको सङ्ख्या उल्लेख्य बढेको र शुद्ध खानेपानी वितरण भइरहेकोमा खुसी व्यक्त गर्नुभयो। संस्थाका निवर्तमान अध्यक्ष माधवप्रसाद अर्यालले आफू समितिमा नरहे पनि संस्थाबाट टाढा नभएको बताउँदै आवश्यक सहयोग गर्न सधैँ तयार रहेको प्रतिबद्धता जनाउनुभयो।
कोषाध्यक्ष विरञ्जना घिमिरेले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा पूर्वअध्यक्ष भीष्मराज पौडेल, साविक सौराहा बछौली खानेपानीका अध्यक्ष केदारप्रसाद चापागाईं लगायतले मन्तव्य राख्दै नयाँ समितिलाई शुभकामना दिनुभएको थियो।
संस्थाका सचिव प्रताप डल्लाकोटीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा मुख्य निर्वाचन अधिकृत प्रकाश खनाल, निर्वाचन अधिकृत अर्जुनप्रसाद पङ्गेनी, नवनिर्वाचित वडा समितिका संयोजक तथा सदस्यहरूको उपस्थिति रहेको थियो।