चितवन केरा उत्पादक संघको साधारण सभा : दुई वर्षभित्र निर्यात गर्ने लक्ष्य

June 8, 2026 7:29 pm

रत्ननगर, जेठ २५ ।

चितवन केरा उत्पादक संघको आठौँ साधारण सभा सोमबार रत्ननगरमा गरिएको छ । साधारण सभामा बोल्ने सरोकारवाला तथा किसानहरूले आगामी दुई वर्षभित्र केरा उत्पादनमा उल्लेख्य सुधार गर्ने र दुई वर्षभित्र नेपाललाई केरामा पूर्ण रूपमा आत्मनिर्भर बनाई निर्यात समेत गर्ने लक्ष्यका साथ आफूहरू लागिपरेको बताएका छन्।

कार्यक्रममा बोल्दै नेपाल केरा उत्पादक महासंघका संयोजक विष्णुहरी पन्तले उत्पादक संघकै पहलका कारण भारतबाट नेपाल भित्रिने केरा रोकिएको जानकारी दिँदै सरकारले नेपाली केरा किसानको पक्षमा गरेको निर्णयको प्रशंसा गरे । चितवनमा मात्रै थप ८ लाख केराका वेर्ना बढेको दाबी गर्दै उनले अबको दुई वर्षमा नेपाल केरामा आत्मनिर्भर भएर निर्यात गर्ने दिशामा अघि बढेको बताए । संयोजक पन्तले किसानहरूलाई उत्पादन बढाउनुका साथै प्याकेजिङ र गुणस्तर सुधारमा ध्यान दिन आग्रह गर्दै भने, ‘अब हाम्रा सामु गुणस्तरीय उत्पादन र आधुनिक प्याकेजिङको चुनौती छ। यदि किसानहरू एकजुट भएर उत्पादन वृद्धिमा लागे भने भारतबाट कहिल्यै पनि केरा नेपाल भित्रिने छैन।’

कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई समिति चितवनका प्रमुख महेश रेग्मीले भारतबाट केरा आयात खुलाउन केही व्यवसायीले प्रयास गरे पनि केरा उत्पादक संघको सक्रियताका कारण त्यो असफल भएको बताए। नेपाललाई केरामा छिट्टै आत्मनिर्भर बनाउन सकिनेमा विश्वास व्यक्त गर्दै उनले कृषि यन्त्रका लागि सरकारले छुट्ट्याएको बजेट किसानले माग नगर्दा फिर्ता हुनु परेकोमा दुःख व्यक्त गरे । प्रमुख रेग्मीले किसानहरूलाई सरकारी सूचनाहरू समयमै हेरेर आवश्यकता अनुसार कृषि यन्त्र माग गर्न अनुरोध समेत गरे ।

त्यस्तै, जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले कृषकहरूको माग अनुसार पर्याप्त मल उपलब्ध गराउन नसकेको स्वीकार गरे । संघीय सरकारबाट पर्याप्त मल नआएका कारण वितरणमा समस्या भएको प्रष्ट पार्दै उनले संघले प्रदेश सरकारलाई र प्रदेशले जिल्ला हुँदै पालिकाहरू मार्फत मल वितरण गर्ने प्रक्रिया रहेको जानकारी दिए।

कार्यक्रममा संघका पूर्व अध्यक्ष यज्ञप्रसाद सुवेदीले बजारमा केराको बिरुवा पर्याप्त उपलब्ध नभएको गुनासो गर्दै सरकारले बिरुवा र पोटास मलको सहज उपलब्ध गराउनुपर्नेमा जोड दिए । संघका निवर्तमान अध्यक्ष माधवप्रसाद घिमिरे र केरा उत्पादक संघ रत्ननगर नगर समितिका संयोजक रामलाल श्रेष्ठ, कार्यसमिति सदस्य शारदा दाहाल लगायतले सबै पक्ष एकजुट भएर लागे केरामा आत्मनिर्भर बन्ने उद्देश्य सहजै पूरा हुने विश्वास व्यक्त गरे ।

चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोका अनुसार हाल चितवन जिल्लामा व्यवसायिक केरा किसानको संख्या ७१० रहेको छ भने कुल ३ हजार बिघा क्षेत्रफलमा केरा खेती भइरहेको छ। जिल्लाले वार्षिक ७० हजार मेट्रिक टन केरा उत्पादन गर्दै २ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार गरिरहेको जानकारी दिए । चितवनमा हाल मुख्य गरी ‘माल्बो’ र ‘जी-नाइन’ जातका केरा उत्पादन भइरहेका छन्। जिल्लामा थप ८ लाख बिरुवा बढेको जानकारी दिँदै अध्यक्ष महतोले राज्यले बीउबिजन, मल, बिमा तथा ब्याज अनुदान जस्ता विषयलाई सहज बनाइदिए किसानहरूलाई ठूलो राहत मिल्ने बताए ।

संघका महासचिव टंकप्रसाद लामिछानेले सञ्चालन गरेको उक्त साधारण सभाको समापन संघका वरिष्ठ उपाध्यक्ष शंकरप्रसाद सुवेदीले गरेका थिए ।