सौराहामा चैत १२ देखि १४ गते २०औँ सौराहा फुड फेस्टिबल

March 24, 2026 3:36 pm

रत्ननगर, चैत १० ।

चितवनको पर्यटकीय नगरी सौराहामा फुड फेस्टिबलको २०औँ संस्करण यही चैत १२, १३ र १४ गते तीन दिनसम्म आयोजना हुँदैछ । रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) सौराहाले यसपटक फेस्टिबलको स्वरूप परिवर्तन गरी सौराहाको मुख्य बजारमा सडक फुड फेस्टिबलको रूपमा आयोजना गर्न लागेको हो । गैंडाचोकदेखि पूर्वतर्फ छत्री स्टेटसम्म फेस्टिबल हुने भएको छ ।

आयोजक रेवान सौराहाले मंगलबार पत्रकार सम्मेलन गरी फेस्टिबलको उद्देश्य र तयारीबारे जानकारी दिएको छ । निर्वाचन आचारसंहिताका कारण रोकिएको फेस्टिबललाई चैते दसैंको अवसरमा नयाँ स्वरूपमा सञ्चालन गर्न लागिएको कार्यक्रम संयोजक कृष्णप्रसाद खतिवडाले बताए ।

“प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता” भन्ने नारालाई आत्मसात् गर्दै खाना, संगीत र संस्कृतिलाई केन्द्रमा राखेर फेस्टिबल आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

रेवान सौराहाका अध्यक्ष शम्भूप्रसाद मालीले निर्वाचन अवधिमा सुरक्षा, सहभागिता र व्यवस्थापनमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै कार्यक्रमको मिति परिवर्तन गरिएको बताए । उनले सौराहा तथा चितवनको पर्यटन विकासमा यो फेस्टिबल कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

कार्यक्रम सहसंयोजक पुरुषोत्तम लामिछानेले सौराहा आएका पर्यटकहरूलाई सडकमै गीत–संगीतको मजा लिँदै विभिन्न खानाका परिकार उपलब्ध गराउने योजना रहेको बताए ।

रेवानका महासचिव नविन नेपालले फेस्टिबलको मुख्य उद्देश्य समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी र विदेशी खानाको प्रवद्र्धन गर्ने, स्थानीय कला–संस्कृति र भेषभूषाको जगेर्ना गर्दै सौराहालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको रूपमा चिनाउने रहेको स्पष्ट पारे ।

फेस्टिबलमा बहुजातीय झाँकी प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक कार्यक्रम, स्थानीय जनजातिका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर–वेट्रेसबीच प्रतियोगिता लगायतका कार्यक्रम समावेश छन् ।

आयोजकका अनुसार फेस्टिबल सम्पन्न गर्न ६० लाख रुपैयाँ खर्च लाग्ने र एक करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको यस फेस्टिबलको सह–आयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल चितवन र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड छन् ।

रेवान सौराहाका पूर्वअध्यक्ष राजन भट्टले फेस्टिबलको निरन्तरताका लागि यो वर्ष सडक फुड फेस्टिबलको अवधारणा अघि सारिएको बताए । स्वदेशी तथा विदेशी पर्यटक सडकमै रमाउने गरी तयारी गरिएको उनको भनाइ छ ।