टिकौली मध्यवर्ती सामुदायिक वनको नवौं वार्षिक साधारण सभा सम्पन्न

March 18, 2026 6:59 pm

४ चैत, रत्ननगर ।
रामु आचार्य ।
चितवनको रत्ननगर–९ स्थित टिकौली ईको पार्कमा टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। वन समूहका अध्यक्ष बुद्धिसेन चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ननगर–९ का वडाध्यक्ष अनन्त अधिकारी प्रमुख अतिथि रहनुभएको थियो भने चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख रविन चौधरी विशेष अतिथि रहनुभएको थियो। कार्यक्रममा संस्थापक अध्यक्ष माधव प्रसाद अर्याल, निवर्तमान अध्यक्ष इश्वरी प्रसाद लामिछाने, पूर्व अध्यक्षहरू बन्धुराम महतो र बुद्धिमान वि.क., संस्थापक सचिव मणि प्रकाश खतिवडा, सल्लाहकार लेखनाथ आचार्य, विज्ञ सल्लाहकार ध्रुव अधिकारी, अनुगमन संयोजक दशरथ महतो लगायत वडाका विभिन्न राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वन समूहका उपाध्यक्ष टिकाराम आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। यस अवसरमा अध्यक्ष बुद्धिसेन चौधरीले वार्षिक कार्ययोजना तथा हालसम्म सम्पन्न कार्यक्रमहरूको विवरण प्रस्तुत गर्नुभयो। उहाँले खगेरी तटबन्धन कार्यक्रम विस्तार गरी ईको पार्कको संरक्षण तथा संवर्द्धन गर्ने, सीप विकास कार्यक्रमलाई निरन्तरता दिने, तालतलैया मर्मत तथा व्यवस्थापन गर्ने, घाँसेमैदान र सिमसार संरक्षणका साथै वृक्षारोपण गर्ने र उपभोक्तालाई विद्युतीय चुलो वितरण गर्ने योजना प्रस्तुत गर्नुभयो।

कार्यक्रममा कोषाध्यक्ष राधा पौडेल सुवेदीले आर्थिक वर्ष ०८१/८२ को लेखापरीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष ०८२/८३ को अनुमानित आय–व्यय विवरण प्रस्तुत गर्नुभयो भने लेखा संयोजक मदन घिमिरेले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो।

त्यसैगरी कार्यक्रममा सहमति संस्थाका तारा सुवेदी, पञ्चकन्या सामुदायिक वनका अध्यक्ष कृष्ण बगाले, निवर्तमान प्रदेश सांसद कञ्चन खनाल, नेकपाका संयोजक नन्दलाल रेग्मी, सल्लाहकार सदस्य लेखनाथ आचार्य, रास्वपा वडा संयोजक फणिन्द्र ढुंगाना, पूर्व अध्यक्ष बुद्धिमान वि.क., संस्थापक अध्यक्ष माधव प्रसाद अर्याल तथा जिल्ला समन्वय समिति सदस्य सविता चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष अनन्त अधिकारीले वनद्वारा सञ्चालन हुने हरेक कार्यक्रममा वडा कार्यालयको पूर्ण साथ र सहयोग रहने बताउनुभयो। साथै, लक्षित वर्गका लागि वडाले तालिम तथा सीप विकास कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै विकास निर्माणका कार्यमा नेपाल सरकारको वन ऐनले केही जटिलता सिर्जना गरेको पनि उहाँले बताउनुभयो।

कार्यक्रम टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह अन्तर्गतका सदस्यहरुको सक्रिय सहभागिता सहित सम्पन्न भएको थियो।