रत्ननगर, फागुन ९ ।
लाइसियम इन्टरनेशनल मोडल स्कुल, रत्ननगर–१० मा अभिभावक तथा शिक्षकहरूलाई लक्षित गरी ‘प्राथमिक स्वास्थ्य सचेतना’ कार्यक्रम गरिएको छ ।
कार्यक्रमको मुख्य उद्देश्य अभिभावक र शिक्षकहरूलाई आधारभूत स्वास्थ्य ज्ञान प्रदान गरी स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु रहेको विद्यालयका प्राचार्य पशुपति उपाध्यायले बताए । एन्जल फाउन्डेसन भण्डाराको प्राविधिक सहयोग रहेको कार्यक्रममा सन्तोष कार्कीले सहजीकरण गरेका थिए । कार्कीले आपत्कालीन अवस्थामा प्राथमिक स्वास्थ्य उपचारका विभिन्न विधि तथा प्राथमिक स्वास्थ्य सेवासम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए ।
विद्यालयका निर्देशक सन्तोष पन्तले यो सचेतना कार्यक्रमले विद्यार्थी, अभिभावक तथा समुदायलाई समेत स्वास्थ्यप्रति जागरूक बनाउने विश्वास व्यक्त गरे । उनले स्कुलको सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गरिने बताए ।
कार्यक्रममा सहभागी अभिभावक तथा शिक्षकहरूले यो कार्यक्रम अत्यन्त उपयोगी र समयसापेक्ष रहेको प्रतिक्रिया दिएका छन् । विद्यालयले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।