सांसद ढकालको दावी: ‘आगामी निर्वाचनमा पूर्वी चितवनको सबै पालिका रास्वपाले जित्छ’

July 5, 2025 8:14 pm

लक्ष्मण सापकोटा/रत्ननगर, असार २१ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले आगामी निर्वाचनमा पूर्वी चितवनका तीनवटै पालिका र खैरहनी नगरपालिकाका १३ वटै वडा जित्ने दावी गरेका छन्। रास्वपाको तेस्रो स्थापना दिवसको अवसरमा खैरहनीमा आयोजित भेटघाट तथा शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै उनले जनताको विश्वास र पार्टीको सुशासनप्रतिको प्रतिबद्धताले यो लक्ष्य सम्भव हुने बताए।

रास्वपा निर्वाचन क्षेत्र समिति, क्षेत्र नं. १, चितवनद्वारा आयोजित कार्यक्रममा ढकालले भने, ‘हामीले जनताको मन जितेका छौं। पूर्वी चितवनका तीन पालिका र खैरहनीका सबै वडा हाम्रो।’ उनले स्थानीय जनताको समर्थन र आफ्नो क्षेत्रमा भइरहेका विकासका कामले यो सम्भव हुने विश्वास व्यक्त गरे।

सांसद ढकालले पूर्वी चितवनको विकासका लागि निरन्तर प्रयास गरिरहेको बताए। ‘यहाँका जनताले तिरेको करबाट ल्याइएको बजेट यहाँकै विकासमा खर्च हुन्छ। यो नेताहरूले आफ्नो सम्पत्ति बेचेर ल्याएको होइन,’ उनले भने। कंकाली जाने बाटो निर्माण र कंकाली माई मन्दिरको विकासका लागि बजेट विनियोजन भएको उनले जानकारी दिए। वर्तमान सरकारप्रति असन्तुष्टि जनाउँदै उनले बजेट ल्याउन ‘बाघको मुखबाट खोसे जस्तै’ भएको बताए। ‘पर्याप्त बजेट ल्याउन नसके पनि पूर्वी चितवनको विकासमा कुनै कसर बाँकी राख्दिनँ,’ उनले प्रतिबद्धता जनाए।

निर्वाचनका बेला ठूला सपना नबाँडेको प्रष्ट्याउँदै ढकालले भने, ‘मैले ठूला योजनाको कुरा गरेर भोट मागिनँ। सामान्य र आधारभूत योजनाहरू पूरा गर्छु, किसानका मुद्दा उठाउँछु भनेको थिएँ, त्यो पूरा गरेको छु।’ पूर्वी चितवनका जनता र किसानका समस्यालाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको दावी छ।

रास्वपाको मूल मर्म सुशासन र भ्रष्टाचारविरुद्धको लडाइँ भएको बताउँदै ढकालले सदनमा यसविरुद्ध निरन्तर आवाज उठाइरहेको उल्लेख गरे। ‘हामी भ्रष्टाचारविरुद्धको अभियानमा अडिग छौं,’ उनले जोड दिए।