रत्ननगर, असार २० ।
रत्ननगर–१५ को कार्यालयले रत्ननगरमै पहिलोपटक वडास्तरको सार्वजनिक सुनुवाइ आयोजना गरेको छ । जनप्रतिनिधि र स्थानीय बासिन्दाबीच प्रत्यक्ष संवाद कायम गरी विकास, सेवा प्रवाह र जनमुखी कार्यक्रमबारे सार्वजनिक धारणा बुझ्न आयोजित यो कार्यक्रममा वडावासीले आफ्ना धारणा राखेका छन्।
कार्यक्रममा सहभागी अधिकांश सेवाग्राहीले वडा कार्यालयले प्रदान गरेको सेवा र जनमुखी कार्यक्रमको खुलेर प्रशंसा गरे। साथै, विकास निर्माण र सुधार गर्नुपर्ने विषयमा पनि सुझाव राखे।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले आ–आफ्ना धारणा व्यक्त गरे। नेपाली कांग्रेसका उपसभापति केशवबाबु घिमिरेले सार्वजनिक सुनुवाइ गर्नु लोकतान्त्रिक अभ्यासका लागि महत्वपूर्ण कदम भएको बताए। नेकपा (एमाले) का अध्यक्ष कृष्ण पन्तले वडा नं. १५ को विकास र समृद्धिका लागि भइरहेको प्रयासको उच्च मूल्याङ्कन गरे।
त्यस्तै, माओवादी केन्द्रका वडा अध्यक्ष देवीप्रसाद बस्ताकोटीले वडाले चालेको ऐतिहासिक कदमको प्रशंसा गरे। रास्वपाका सभापति हरिप्रसाद सिलवालले उपभोक्ता समिति गठन गर्दा राजनीतिक आस्था हेरिएको आरोप लगाउँदै सूचना प्रवाहमा सुधार आवश्यक रहेको बताए। राप्रपाका वडा अध्यक्ष प्रितम पाण्डेलगायत अन्य नेताहरूले पनि आफ्ना मन्तव्य राखे।
सार्वजनिक सुनुवाइका क्रममा स्थानीय बासिन्दाले समयमा कुलो निर्माण सम्पन्न नभएको, सुत्केरी तथा गर्भवती पोषण कार्यक्रममा सहभागिता न्यून रहेको, एम्बुलेन्स व्यवस्थापन, शैक्षिक गुणस्तर सुधारका लागि अनुगमनलगायतका विषयमा प्रश्न उठाए।
सोधिएका प्रश्नको जवाफ वडाध्यक्ष आसिक तामाङ, स्वास्थ्य केन्द्र प्रमुख रोजिना गिरी, पिठुवा सिँचाइका सचिव मदन भुजेललगायतले दिए। उनीहरूले वडा कार्यालयले कुनै पूर्वाग्रह नराखी बजेटको दायराभित्र रहेर नगरवासीका सरोकारका विषय समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा पूर्वजनप्रतिनिधि तथा व्यवसायिक पशुपालक कृषक चेतप्रसाद ढकाललाई सम्मान गरिएको थियो। वडा सदस्य ईमप्रसाद पन्तले वडाको प्रतिवेदन प्रस्तुत गरे भने वडा सदस्य शिवप्रसाद तिवारीले स्वागत मन्तव्य राखे। कार्यक्रममा वडा सचिव नवराज तिवारी, कम्प्युटर अपरेटर शक्ति बुढाथोकी, विभिन्न दलका प्रतिनिधि र स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता थियो।
उज्यालो नेपाल एड्भर्टाइजिङ एन्ड ब्रोडकास्टिङ प्रा.लि.को संयोजनमा आयोजित कार्यक्रमको सहजीकरण रामकान्त पौडेलले गरेका थिए।