रत्ननगर, असार १६७।
रत्ननगर नगरपालिका वडा नम्बर १० मा रहेको क्वेस्ट मोडेल कलेज तथा प्यारागन माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थी र उत्कृष्ट नतिजाका लागि योगदान पुर्याउने शिक्षकहरूलाई सम्मान गरेको छ। सोमबार विद्यालयमा आयोजित औपचारिक बधाई तथा शुभकामना कार्यक्रममा शतप्रतिशत नतिजा ल्याउने विद्यार्थी र कक्षा १० मा अध्यापन गराउने शिक्षकहरूलाई सम्मान गरिएको हो।
विद्यालयका प्राचार्य नेत्र क्षेत्रीका अनुसार यस वर्षको एसईईमा सहभागी १६ जना विद्यार्थीमध्ये एक जनाले ४.० जिपिए ल्याएका छन् भने सबै विद्यार्थी उत्तीर्ण भएका छन्। यो नतिजासँगै क्वेस्ट मोडेल कलेजले चितवन जिल्लामा तृतीय र रत्ननगर नगरपालिकामा प्रथम स्थान हासिल गरेको छ। ‘यो सफलता विद्यार्थी, शिक्षक र व्यवस्थापन टोलीको अथक मेहनतको परिणाम हो,’ प्राचार्य क्षेत्रीले भने, ‘म सबैलाई हृदयदेखि बधाई दिन्छु र आगामी दिनमा पनि यस्तै उत्कृष्टता कायम राख्न हामी प्रतिबद्ध छौं।’ उनले यो नतिजाले विद्यालयको शैक्षिक गुणस्तर, शिक्षकहरूको समर्पण र विद्यार्थीहरूको मेहनतलाई उजागर गरेको बताए।
कार्यक्रममा ४.० जिपिए प्राप्त गर्ने विद्यार्थी रोजीना गुरुङले आफ्नो अनुभव साझेदार गर्दै कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई हौसला प्रदान गरिन्। ‘आफूमा विश्वास र लक्ष्यमा केन्द्रित भएर मेहनत गरे उत्कृष्ट नतिजा ल्याउन सकिन्छ,’ उनले भनिन्। अर्की विद्यार्थी अंशु अधिकारीले आफ्नो सफलताको पछाडि अथक मेहनत रहेको सुनाइन्। शिक्षकको तर्फबाट मन्जु पन्तले सबै विद्यार्थीलाई बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरिन् र निरन्तर मेहनतका लागि प्रोत्साहन गरिन्। अभिभावकको तर्फबाट सुवास पोख्रेलले शतप्रतिशत नतिजा ल्याउन योगदान पुर्याउने विद्यार्थी, शिक्षक, व्यवस्थापन टोली र समग्र विद्यालय परिवारलाई धन्यवाद र बधाई दिए।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निराजन खनाल, अभिभावक संघका अध्यक्ष टेक बहादुर कुँवर, सहायक प्राचार्य उमराज आचार्य, दोइन्द्र पौडेल, लेखा अधिकृत प्रकाश शर्मा र पूर्व शिक्षक सिपी घिमिरे लगायतको उपस्थिति रहेको थियो। यो कार्यक्रमले विद्यार्थी, शिक्षक र अभिभावकहरूमा उत्साह थपेको र आगामी शैक्षिक यात्रामा प्रेरणा प्रदान गरेको सहभागीहरूले बताए।