रत्ननगर, असार १२ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरेको छ। पार्टी स्थापना दिवसको अवसरमा गत शनिबारबाट सुरु भएको यो अभियान रत्ननगरसहित देशका विभिन्न स्थानमा जारी छ। रास्वपाले सभापति लामिछानेमाथि लक्षित राजनीतिक षड्यन्त्र र प्रतिशोधको विरोधमा जनताको समर्थन जुटाउन यो अभियान थालेको हो।
रत्ननगरमा बुधबारबाट सुरु भएको हस्ताक्षर अभियान टाँडी चोक र सौराहा चोकमा सञ्चालित छ। रास्वपाका केन्द्रीय महाधिवेशन प्रतिनिधि बेद प्रसाद आचार्यका अनुसार हालसम्म रत्ननगरमा ११ हजारभन्दा बढी हस्ताक्षर सङ्कलन भइसकेको छ। आचार्यले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै यसविरुद्ध जनताको आवाज बुलन्द गर्न हस्ताक्षर अभियान सञ्चालन गरिएको बताए। उनले यो अभियानले जनताको समर्थन र एकताको सन्देश दिने विश्वास व्यक्त गरे।
रास्वपाले यो अभियानमार्फत सभापति लामिछानेमाथि भइरहेको कथित राजनीतिक आक्रमणको भण्डाफोर गर्ने र जनताको साथ लिएर त्यसको प्रतिवाद गर्ने लक्ष्य राखेको छ। हस्ताक्षर अभियानलाई निरन्तरता दिँदै रास्वपाले देशभरका अन्य स्थानमा पनि यस्तै गतिविधि सञ्चालन गरिरहेको छ।