‘ख्याल-ख्यालमै मेयर बनेँ, रत्ननगरलाई बिग्रन दिन्न’ : मेयर सापकोटा

June 24, 2025 10:40 pm

लक्ष्मण सापकोटा/रत्ननगर, असार १० । 

रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले आफ्नो जीवनको अप्रत्याशित राजनैतिक यात्रा र समाजसेवाप्रतिको समर्पणलाई जनप्रतिनिधिहरूमाझ व्यक्त गरेका छन्। उनले मंगलबार सम्पन्न रत्ननगरको नगर सभापछि जनप्रतिनिधिहरूमाझ आफ्नो अप्रत्याशित राजनैतिक यात्रा र समाजसेवाप्रतिको समर्पणको कथा सुनाएका हुन् । सापकोटाले जिन्दगीमा मेयर बन्छु भन्ने कहिल्यै नसोचेको, तर नियतिले राजनीतिमा ल्याएर रत्ननगरको नेतृत्व गर्ने अवसर दिएको बताए। ‘मैले नेता बन्छु, मेयर बन्छु भनेर सोचेकै थिइनँ। भाषण गर्नुपर्यो भने थुरथुर काम्थेँ,’ उनले हाँस्दै पुराना दिन सम्झिए।

वि.सं. २०७० मा ख्याल-ख्यालमै राजनीतिमा प्रवेश गरेका सापकोटा २०७३ सालमा कांग्रेसको १३औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला सदस्य हुँदै नगर सभापति बने। वि.सं. २०७९ को स्थानिय चुनाबमा पार्टीले मेयरको टिकट दिएपछि उनले चुनाव लडे र ठूलो मतान्तरले जिते। ‘ त्यतिबेला मलाई कसैले चिन्दैनथे। मलाई ‘डन’ र ‘गलत मान्छे’ भनेर गलत प्रचार गरियो, तर मैले त झिंगा पनि मारेको छैन,’ उनले ठट्टा गर्दै भने। समाजसेवा र असल कर्मको बलमा जनताले विश्वास गरेको उनको दाबी छ। ‘मैले कमाएको ४० प्रतिशत समाजसेवामै खर्च गरेको छु। गरिब-दुखीलाई दुखी देख्न सकिनँ, सधैं सहयोग गरेँ,’ उनले थपे।

सापकोटाले राजनीतिलाई ‘सम्भावनाको क्षेत्र’ बताउँदै युवाहरूलाई प्रेरित गरे। ‘हजारौं युवाले प्रलाद सापकोटा जस्तो बन्न पाए हुन्थ्यो भन्ने सोच्नुपर्छ। वडाध्यक्ष, मेयर, उपमेयर जस्तो बन्ने प्रेरणा दिनुपर्छ,’ उनले भने। समाज बदल्ने जिम्मा आफूहरूकै भएको र राम्रो काम गर्न छोडे राजनीति गर्नुको अर्थ नहुने उनको भनाइ छ। ‘सबैले यो खत्तम छ, बरबाद छ भन्यो भने किन राजनीति गर्ने? छोडिदिए भइहाल्यो,’ उनले थपे।

रत्ननगरलाई भव्य बनाउने ठूलो दाबी नगरे पनि सापकोटाले बिग्रन नदिने र जनताप्रति उत्तरदायी भएर सकेको विकास गर्ने प्रतिबद्धता जनाए। उनले समाजमा अरूलाई बिगारेर राम्रो बन्ने प्रवृत्तिप्रति दुखेसो पोख्दै भने, ‘तपाईंले मलाई खुइल्याउँदा अरूले तपाईंलाई पनि खुइल्याइरहेका हुन्छन्।’मेयरको सरकारी सुविधा गाडी आफूले प्रयोग नगरेको बताउँदै उनले राजनीतिमा असल कर्मले नै सफलता प्राप्त हुने र गलत बाटो हिँड्नेहरू कहिल्यै गन्तव्यमा नपुग्ने विचार राखे। ‘कसैको भाग्य देखिँदैन। हामीले नसोचेका व्यक्ति सांसद, मन्त्री बन्छन्। त्यसैले सधैं असल कर्म गरौं,’ उनले थपे।

आफूले सधैं असल कर्म गरेको र जनताको विश्वास जितेको बताउँदै सापकोटाले फेरि चुनाव लड्दा पनि जित्ने विश्वास व्यक्त गरे। उनको सादगी, समाजसेवाप्रतिको समर्पण र प्रेरणादायी कथाले रत्ननगरका जनप्रतिनिधि र युवाहरूलाई असल कर्म र समाजसेवाप्रति प्रेरित गरेको छ।