लक्ष्मण सापकोटा/रत्ननगर,असार ६ ।
रत्ननगर नगरपालिकाले सामाजिक सुरक्षा भत्ताको महत्व र प्रक्रियाबारे जागरूकता फैलाउन सञ्चालन गरेको ‘टोल-टोलमा सामाजिक सुरक्षा भत्ता सचेतना कार्यक्रम’ शुक्रबार समापन भएको छ। सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाले विपन्न र सीमान्तकृत समुदायलाई लक्षित गरी असार २ गतेदेखि वडा नं. १३ बाट सुरु गरेको यो अभियान वडा नं. १२, ४, ६ हुँदै शुक्रबार वडा नं. ३ को नमूना टोलमा समापन भएको हो।
उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीले यो कार्यक्रमले टोलबासीलाई भत्ताको महत्व, प्राप्त गर्ने प्रक्रिया र दुरुपयोग रोक्ने उपायबारे सुसूचित गरेको बताए। ‘यो अभियानले सामाजिक सुरक्षा भत्ताको पहुँच वृद्धि गर्न र सीमान्तकृत समुदायमा सचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने। ज्येष्ठ नागरिक, एकल महिला, विधवा, पूर्ण अपाङ्ग, अशक्त अपाङ्ग, बालबालिका र आदिवासी जनजातिलाई सात शीर्षकमा भत्ता वितरण भइरहेको जानकारी दिँदै उनले भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य रहेको र साउन–भदौमा वडा कार्यालयमार्फत नवीकरण गर्नुपर्ने बताए। नवीकरण नगरे भत्ता रोकिने र स्वास्थ्य अवस्थाले उपस्थित हुन नसक्नेले संरक्षकमार्फत नवीकरण गर्न सक्ने उनले प्रष्ट पारे।
बस्ताकोटीले सरकारको दोहोरो सुविधा लिन नपाइने नीतिअनुसार पेन्सन लिनेले भत्ता नपाउने बताए। नेपालमा वार्षिक साढे एक खर्ब र रत्ननगरमा करिब ३२ करोड रुपैयाँ भत्तामा खर्च हुने गरेको उनले उल्लेख गरे। हाल रत्ननगरमा १२ वटा बैंकमार्फत १६ वटै वडामा भत्ता वितरण भइरहेको र छिट्टै बैंकको संख्या १६ पुर्याउने लक्ष्य रहेको उनले जनाए। ‘कतिपय लाभग्राहीसम्म भत्ता नपुगी परिवारका अन्य सदस्यले रकम बुझेर दुरुपयोग गरेको गुनासो छ,’ उनले भने, ‘राष्ट्रिय परिचयपत्र र लाभग्राहीको अनिवार्य उपस्थितिले दुरुपयोग नियन्त्रणमा उल्लेखनीय सफलता मिलेको छ।’ गत वर्ष देशभर ३७ लाखले भत्ता लिएकोमा हाल ३२ लाखले मात्र नवीकरण गरेको तथ्याङ्कले दुरुपयोगमा कमी आएको उनले बताए। राष्ट्रिय परिचयपत्र नभएकालाई जिल्ला प्रशासन कार्यालयमा बनाउन र शारीरिक अवस्थाले पुग्न नसक्नेका लागि छिट्टै घुम्ती शिविर सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए।
समापन कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेलले ज्येष्ठ नागरिक भत्ताको उमेर सीमा ६८ बाट ७० वर्ष पुर्याइएको जानकारी दिंदै यसबारे धेरैलाई भ्रम रहेको बताए। ‘यो सचेतना कार्यक्रमले यस्ता भ्रम हटाउन सहयोग गर्छ,’ उनले भने। बैंकमा पुग्न नसक्ने लाभग्राहीका लागि बैंकसँग समन्वय गरी घरमै भत्ता पुर्याइएको र भत्तासम्बन्धी कुनै समस्या परे वडा कार्यालयमा सम्पर्क गर्न उनले आह्वान गरे। यो अभियानले भत्ताको पहुँच र पारदर्शिता बढाउनुका साथै विपन्न समुदायलाई प्रक्रियागत जटिलता हटाएर सशक्त बनाएको उनले बताए। ‘स्थानीय समुदायको सक्रिय सहभागिता र वडा कार्यालयको सहयोगले यो पहल सामाजिक सुरक्षाको क्षेत्रमा कोसेढुङ्गा सावित हुनेछ,’ उनले दाबी गरे।
कार्यक्रममा एकल भत्ता लिइरहेकी लक्ष्मीदेवी तामाङले नवीकरणसम्बन्धी गलत बुझाइले दुख पाएको अनुभव सुनाउँदै अब बाहिरी जिल्लाबाट पनि नवीकरण गर्न सकिने थाहा पाएको बताइन्। कार्यक्रममा वडा नम्बर ३ का सदस्यहरू शिव खनाल, देवी सुनार, ईश्वर जम्मरकट्टेललगायतको उपस्थिति रहेको थियो। यो अभियानले रत्ननगरका टोलबासीलाई जागरूक बनाउनुका साथै सामाजिक सुरक्षा भत्ताको पारदर्शी र समावेशी वितरण प्रणाली स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ ।