लक्ष्मण सापकोटा/रत्ननगर, असार ५ ।
रत्ननगर नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाले ‘टोल–टोलमा सामाजिक सुरक्षा भत्ता सचेतना अभियान’अन्तर्गत वडा नम्बर ६ मा बिहिबार सचेतना कार्यक्रम गरेको छ। वडा नम्बर १३ बाट सुरु भएको यो अभियानले सामाजिक सुरक्षा भत्ताको महत्त्व, प्रक्रिया र प्रावधानबारे जानकारी प्रदान गर्नुका साथै पारदर्शिता र पहुँच वृद्धि गर्ने लक्ष्य राखेको छ।
उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीले कार्यक्रममा ज्येष्ठ नागरिक, एकल महिला, विधवा, पूर्ण अपाङ्ग, अशक्त अपाङ्ग, बालबालिका र आदिवासी जनजातिलाई सात शीर्षकमा भत्ता वितरण भइरहेको जानकारी दिए। भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य भएको र साउन–भदौमा वडा कार्यालयमार्फत नवीकरण गर्नुपर्ने उनले बताए। ‘नवीकरण नगरे भत्ता रोकिन्छ, तर स्वास्थ्य अवस्थाले उपस्थित हुन नसक्नेले संरक्षकमार्फत नवीकरण गर्न सक्छन्,’ उनले भने। विदेशमा रहेका व्यक्तिको भत्ता नवीकरण नहुने, तर स्वदेश फर्किएपछि निवेदन दिएमा अर्को महिनादेखि भत्ता पुनः सुरु हुने व्यवस्था रहेको उनले प्रष्ट पारे। अन्य जिल्लामा रहेकाले सम्बन्धित पालिकाबाट नवीकरण गर्न सक्ने उनले उल्लेख गरे।
रत्ननगरमा वार्षिक करिब ३२ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्तामा खर्च हुने गरेको छ। हाल १२ वटा बैंकमार्फत १६ वटै वडामा भत्ता वितरण भइरहेको र छिट्टै बैंकको संख्या १६ पुर्याउने लक्ष्य रहेको बस्ताकोटीले बताए। पेन्सन लिनेले सामाजिक सुरक्षा भत्ता नपाउने र दोहोरो सुविधा लिन नमिल्ने उनले स्पष्ट पारे। ज्येष्ठ नागरिक भत्ताको उमेर सीमा ६८ बाट ७० वर्ष पुर्याइएको र नेपालमा वार्षिक साढे एक खर्ब भत्तामा खर्च हुने गरेको उनले जानकारी दिए।
भत्ताको दुरुपयोग रोक्न राष्ट्रिय परिचयपत्र र लाभग्राहीको उपस्थितिलाई अनिवार्य गरिएको छ, जसले दुरुपयोग नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त गरेको छ। गत वर्ष देशभर ३७ लाखले भत्ता लिएकोमा हाल ३२ लाखले मात्र नवीकरण गरेको तथ्याङ्कले सरकारी रकमको दुरुपयोगमा कमी आएको देखाउँछ। राष्ट्रिय परिचयपत्र नभएकालाई जिल्ला प्रशासन कार्यालयमा गएर बनाउन बस्ताकोटीले आग्रह गरे। शारीरिक अवस्थाले प्रशासन कार्यालय पुग्न नसक्नेका लागि नगरपालिकाले छिट्टै घुम्ती शिविर सञ्चालन गर्ने योजना बनाएको उनले बताए।
वडा नम्बर ६ का वडाध्यक्ष किरण महतोले भत्ता रकम लिन बैंकमा उपस्थित हुन नसक्ने लाभग्राहीलाई वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरे। ‘हामीले बैंकसँग समन्वय गरी घरमै भत्ता रकम उपलब्ध गराउने व्यवस्था गरेका छौँ,’ उनले भने। बैंकसंग समन्वय गरेर वडाले बैंकमा उपस्थित हुन नसक्ने लाभग्राहीलाई घरमै भत्ता रकम उपलब्ध गराइरहेको उनले जानकारी दिए। भत्तासम्बन्धी कुनै समस्या परे वडा कार्यालयमा सम्पर्क गर्न उनले आह्वान गरे।
कार्यक्रममा वडा सदस्यहरू गोपी विडारी, बबिता चौधरी, केशरीमाया सुनारलगायतको सहभागिता थियो। सहभागीका तर्फबाट दिपेन्द्र महतोले भत्तासम्बन्धी समस्या राखेका थिए। बस्ताकोटीका अनुसार यो अभियान वडा नम्बर ६ सहित ४ वटा वडामा सम्पन्न भइसकेको छ। असार ६ गते वडा नम्बर ३ को नमूना टोलमा अन्तिम कार्यक्रमसहित अभियान समापन हुनेछ। ‘सम्बन्धित टोलका बासिन्दालाई सहभागी भई जानकारी लिन आह्वान गर्छु,’ बस्ताकोटीले भने।
यो अभियानले सामाजिक सुरक्षा भत्ताको पहुँच र पारदर्शिता बढाउनुका साथै विपन्न र सीमान्तकृत समुदायलाई प्रक्रियागत जटिलता हटाएर सशक्त बनाउने काम गरेको छ। स्थानीय समुदायको सक्रिय सहभागिता र वडा कार्यालयहरूको सहयोगले रत्ननगरको यो पहल सामाजिक सुरक्षाको क्षेत्रमा कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।